
सर्लाही,माघ- १८ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सन्त शिरोमणि गुरु रविदास महाराजको ६४९औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाउने भएको छ । गाउँपालिकाको आयोजनामा आज आइतवार नाढीमन ताल परिसरमा जन्मजयन्ती समारोह आयोजना गरिँदैछ ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार सन्त शिरोमणि गुरु रविदास जन्मजयन्ती समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यसै सन्दर्भमा गाउँपालिकाले हिजो तयारी बैठक सम्पन्न गरेको उनले जानकारी दिए ।

अध्यक्ष महतोका अनुसार आर्थिक वर्ष २०७९÷८० मा चन्द्रनगर गाउँपालिकाले पहिलो पटक सन्त शिरोमणि गुरु रविदासको जन्मजयन्ती औपचारिक रूपमा मनाउन सुरु गरेको हो । त्यसयता हरेक वर्ष निरन्तर रूपमा यो दिवस मनाइँदै आएको छ । नेपालमा सरकारी स्तरबाट सम्भवतः पहिलो पटक चन्द्रनगर गाउँपालिकाले नै गुरु रविदासको जन्मजयन्ती मनाउने परम्पराको सुरुआत गरेको उनको दाबी छ ।

चन्द्रनगर गाउँपालिकामा मात्रै करिब एक हजारको हाराहारीमा गुरु रविदासको विचार र परम्परासँग सम्बन्धित चमार समुदायको बसोबास रहेको अध्यक्ष महतोले बताए । “सन्त शिरोमणि गुरु रविदास विभेदमुक्त, समानतामा आधारित समाजको परिकल्पना गर्ने बहुजन समुदायका गौरव हुनुहुन्छ,” उनले भने ।

जन्मजयन्तीको अवसरमा आज सामूहिक पूजा, भजनकीर्तन, गुरु रविदासको जीवन, ज्ञान, शिक्षा र सामाजिक योगदानमाथि चर्चा गरिनेछ । साथै उहाँद्वारा रचित भजन तथा रचनाहरू गाउने कार्यक्रमसमेत रहेको अध्यक्ष महतोले चियोचर्चो दैनिलाई जानकारी दिए ।

चमार समुदाय संस्कृत भाषाको ‘चर्मकार’ शब्दबाट विकसित भएको मानिन्छ । यो समुदाय परम्परागत रूपमा व्यावसायिक जातिका रूपमा चिनिँदै आएको छ । नेपाल, भारत र पाकिस्तानमा बसोबास गर्ने चमार समुदाय नेपालमा दलित समुदायभित्र पर्छ । यस समुदायका व्यक्तिहरूको थर प्रायः महरा र राम हुने गरेको पाइन्छ ।

नेपालमा करिब चार लाखको हाराहारीमा यस समुदायको जनसंख्या रहेको तथ्यांक छ ।
यसैबीच, सन्त शिरोमणि गुरु रविदास जन्मजयन्तीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको यो निर्णयले गुरु रविदासको योगदानप्रति सम्मान र सामाजिक समावेशिताको सन्देश प्रवाह गर्ने अध्यक्ष महतोले बताए ।









