
बलरा, माघ— १३ । नेपाली कांग्रेसका सभापति तथा पार्टीबाट भावि प्रधानमन्त्रीको उम्मेदवर गगनकुमार थापाले आफ्नो निवार्चन क्षेत्र सर्लाही क्षेत्र नं. ४ सर्लाहीलाई केन्द्रमा राखेर विकास, सुशासन र समावेशी राजनीतिलाई प्राथमिक एजेण्डा बनाउँदै चुनावी गतिविधि तीव्र पारेका छन्।

मंगलवार सर्लाहीको बलरा नगरपालिका–९ छतौनामा आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले देशलाई वर्तमान संकटबाट निकास दिन सक्षम शक्ति नेपाली कांग्रेस नै भएको दाबी गरे । बदलिँदो राजनीतिक परिस्थितिमा आफू नेतृत्वमा रहेको कांग्रेस नयाँ सोच र योजनासहित अघि बढिरहेको उनको भनाइ थियो ।
थापाले पछिल्लो समय निर्वाचन नजिकिँदै जाँदा नयाँ नारा र नयाँ पार्टी खोल्दै आम नागरिकमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै सिद्धान्त र मूल्यविहीन राजनीति दीर्घकालीन रूपमा राष्ट्रका लागि घातक हुने बताए । टिकटका लागि पार्टी परिवर्तन गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले कांग्रेस सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित रहेको स्पष्ट पारे ।

तीन पटक लगातार जितेको काठमाडौं क्षेत्र नं. ४ छाडेर सर्लाही ४ बाट उम्मेदवारी दिएको सन्दर्भमा थापाले आफू बागमतीको एउटा किनारबाट अर्को किनारमा आएको उल्लेख गर्दै मधेशप्रतिको जिम्मेवारीबोधका साथ यहाँ आएको बताए । निर्वाचन क्षेत्र भ्रमणकै क्रममा उनले हुलाकी राजमार्ग अन्तर्गत बलरा —४ मा रहेको बरहरवामा निर्माणाधीन पुलको निरीक्षणसमेत गरेका छन् । डेढ दशकअघि सुरु भएर अलपत्र परेको उक्त पुलको काम हाल मुन्ना कन्सट्रक्सनले अघि बढाइरहेको छ ।
सभापति थापाले निर्वाचनपछि कांग्रेसले सबै राजनीतिक शक्ति र समुदायलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । सोमबार निर्वाचन क्षेत्रमा प्रवेश गर्दै उनले आफू मधेशमा नेता होइन, ‘बेटा’ भएर आएको उल्लेख गर्दै निर्वाचित भए सर्लाही ४ का नागरिकको सेवक बनेर काम गर्ने बताएका थिए ।

स्वर्गीय नेता प्रदीप गिरीको स्मरण गर्दै थापाले मधेशबारे बुझ्ने अवसर गिरीबाटै पाएको उल्लेख गरे । अब मधेशकै प्रतिनिधि भएर यहाँका समस्या, आवश्यकता र सम्भावना बुझ्ने उनको भनाइ थियो । सर्लाही ४ र काठमाडौंमा स्थायी सम्पर्क कार्यालय स्थापना गरी नागरिकका समस्या समाधानमा निरन्तर लाग्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए ।
सर्लाही ४ मा कांग्रेस सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिसकुमार यादव, नेकपा (माओवादी केन्द्र) का रजनिस राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, जनमत पार्टीका राकेश मिश्रसहित ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमाका लागि अहिले सर्लाहीसहित देशैभरी उम्मेदवार भोट माग्न मतदातको घरघर पुगेका छन् ।









