
लालबन्दी, माघ— ४ गते । नेपाल तामाङ घेदुङ लालबन्दी नगर कार्य समितिले लालबन्दी नगरपालिका वडा नम्बर १५ स्थित बोहोरे डाँडामा सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
मञ्जुश्री संवत् २८६२, तामाङ समुदायको महान पर्व ‘ता ल्हो’ (घोडा वर्ग) को शुभ अवसरमा माघ ५ गते सोमवार ल्होछार विशेष कार्यक्रम आयोजना गर्न लागिएको आइतबार लालबन्दी–९ स्थित युनाइटेड होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यता रहनेछ । साथै विभिन्न बौद्ध गुरुहरू, नेपाल तामाङ घेदुङका केन्द्रीय, जिल्ला तथा नगरस्तरीय पदाधिकारीहरू, नगर तथा छिमेकी पालिकाका तामाङ समुदायका सदस्यहरू र स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहनेछ ।
लालबन्दी–८ का वडाध्यक्ष तथा नेपाल तामाङ घेदुङ लालबन्दी नगर अध्यक्ष शुक्र पाख्रिनले सोनाम ल्होछार पर्वको महत्व, बौद्ध संस्कार तथा तामाङ समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको पत्रकार सम्मेलनमा बताए ।

ल्होछार विशेष कार्यक्रममा ल्होछार पूजा, साथै ख्यातिप्राप्त कलाकारहरू गायक सुरेश लामा, मदन घलान, गायिका निर्मला घिसिङ र कमेडियन दिनेश काफ्ले (हाउडे) को विशेष प्रस्तुति रहने जनाइएको छ । साथै विविध सांस्कृतिक कार्यक्रम र ल्होछारका अवसरमा प्रयोग हुने परम्परागत सामग्रीहरूको समेत व्यवस्था गरिनेछ । ल्होछार पूजा, ३ गते देखि सुरुभई सोमवार सम्पन्न हुदै छ ।
तामाङ धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवर्धन गर्दै भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न सहयोग पु¥याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष बुद्ध लामा थिङका अनुसार नगरपालिका र स्थानीयको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको हो । उनले तामाङ समुदायको धर्म, संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुर्याएकोमा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी र उपप्रमुख कल्पनामाया पाख्रिनप्रति धन्यवाद व्यक्त गरे । नगरपालिकाले सोनाम ल्होसारको अवसरमा माघ ६ गते पनि बिदा दिने निर्णय गरेको छ । पर्वको अवसरमा सोमवार संघीय सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
पत्रकार सम्मेलनमा लालबन्दी–६ का वडाध्यक्ष लालबहादुर योञ्जन, नेपाल तामाङ घेदुङ लालबन्दी नगर कार्य समिति सहसचिव सोनाम तामाङ, कोषाध्यक्ष रोशन दोङ तामाङ, माङ्देन छ्योइलिङ गुम्बा लालबन्दी–१५ का अध्यक्ष विजय बम्जनलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन आयोजकले सम्पूर्ण समुदायलाई सहभागिताका लागि आग्रह गरेका छन् ।









