
सर्लाही,माघ-४ गते ।आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाही–३ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ। पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामेश्वर राय यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेसँगै यो क्षेत्रमा त्रिकोणात्मक प्रतिस्पर्धाको संकेत देखिएको हो।

माघ ४ गते जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर रायले पार्टी प्रवेश गरेका हुन्। मधेसवादी राजनीतिबाट यात्रा सुरु गरेका राय ०७४ को निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए। सोही वर्ष एमाले–माओवादी गठबन्धनबाट सर्लाही–३ मा प्रतिनिधिसभा सदस्य निर्वाचित राय केपी ओली नेतृत्वको सरकारमा श्रममन्त्रीसमेत बनेका थिए।

तर ०७९ को निर्वाचनमा माओवादीले सर्लाही–३ मा टिकट नदिएपछि राय पार्टी नेतृत्वसँग असन्तुष्ट थिए। माओवादीले नवप्रवेशी नरेन्द्र साहलाई उम्मेदवार बनाएपछि उनी रुष्ट बनेका थिए। सो निर्वाचनमा माओवादी उम्मेदवारलाई पराजित गर्न उनले भूमिका खेलेको आरोपसमेत लाग्दै आएको छ।
अब फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि माओवादीले नारायणकाजी श्रेष्ठलाई सर्लाही–३ बाट उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। माओवादीबाट टिकट नपाउने निश्चित भएपछि रायले पार्टी छाडेर जसपा रोजेको बुझाइ छ। याेसँगै सर्लाही–३ मा पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेती, पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र जसपाबाट रामेश्वर रायबीच त्रिकोणात्मक भिडन्त हुने सम्भावना देखिएको छ।

उक्त क्षेत्रमा एमालेले हरि उप्रेतीलाई उम्मेदवार बनाइसकेको छ। ०७९ को निर्वाचनमा उप्रेतीले माओवादी उम्मेदवार नरेन्द्र साहलाई ७७० मतान्तरले पराजित गरेका थिए। उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा साहले ३२ हजार १६८ मत पाएका थिए।
गएको स्थानीय तहको निर्वाचनमा रायको गृहनगरसमेत रहेको चक्रघट्ट गाउँपालिकामा माओवादी पराजित भएको थियो। रायले आफ्नै छोरा बिक्रम यादवलाई अध्यक्षको उम्मेदवार बनाएका थिए। तर जसपाका कृष्णकुमार यादव ५ हजार ९१५ मत ल्याएर विजयी हुँदा काँग्रेसका रामजी साह तेली दोस्रो र बिक्रम यादव तेस्रो भएका थिए। उक्त क्षेत्रमा जसपाकाे प्रभाव बढेको आकलन गर्दै उनी पुरानै दलमा फर्किएको अनुमान गरिएको छ ।यद्यपि कांग्रेसले अहिलेसम्म आफ्नो उमेदवार तय गरिसकेको छैन ।








