
लालबन्दी,पुस—३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकामा किशोरीहरूका लागि सञ्चालन गरिएको भनिएको तालिममो रकम हिनामिना भएको ठहर गर्दै नगर प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा बलरा नगरपालिकाको ११औँ नगरसभाबाट पारित “किशोरीहरूका लागि खेलौना बनाउने तालिम” शीर्षकमा विनियोजित ४ लाख रुपैयाँमध्ये ३ लाख ८२ हजार ५३ रुपैयाँ गैरकानूनी रूपमा भुक्तानी गरिएको पाइएको छ। ३० कार्यदिन सञ्चालन गर्नुपर्ने तालिम वास्तविक रूपमा जम्मा ५ दिन मात्र सञ्चालन गरिएको, सहभागीको झुट्टा हाजिरी तथा नक्कली हस्ताक्षर प्रयोग गरिएको र यातायात खर्चसमेत नबुझाइएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले १७ जना सहभागीमध्ये ९ जनाको हस्ताक्षर र औँठाछाप नमिलेको पुष्टि गरेको छ। यद्यपि नगर प्रमुख र वडा अध्यक्षको उपस्थितिसहित उद्घाटन तथा समापन गरिएको झुट्टा कागजात तयार गरी तालिम सम्पन्न भएको देखाइ भुक्तानी गरिएको अख्तियारको दाबी छ।

आयोगले बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा, वडा अध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, योजना शाखा प्रमुख उदय कुमार साह, सहायक लेखापाल राजकुमार महतो तथा शान्ति विकास कल्याण केन्द्र नेपालका अध्यक्ष सविन्द्र नारायण साहसहित ८ जनाले मिलेमतोमा भ्रष्टाचार गरेको ठहर गरेको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै अख्तियारले बिगो ३ लाख ८२ हजार ५३ रुपैयाँ कायम गरी सोही बराबरको जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।









