
सोम दियाली / हरिवन
पुस— २६ गते । घरघरमा स्वच्छ खानेपानी हाम्रो प्रतिवद्धता भन्ने नारासहित खानेपानी तथा सरसफाई उपभोक्ता समिति हरिवनको छैंठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
हरिवन ८ का वडाअध्यक्ष समेत रहेका उपभोक्ता समितिका अध्यक्ष प्रज्वल ढुंगानाको अधयक्षता तथा मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री जवाहारलाल कुशवाहाको प्रमुख आतिथ्यतामा हरिवन ८ स्थित खानेपानीकै प्राङ्गणमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभामा समितको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिकी कोषाध्यक्ष यसोदा भट्टराईले आर्थिक वर्ष २०८१÷८२ मा समितिले ७७ लाख ५५ हजार १२६ रुपैयाँ ७१ पैसा कारोवार गरी २३ लाख ३१ हजार २८० रुपैयाँ ३६ पैसा खुद नाफा आर्जन गरेको जानकारी दिईन् । उनले आर्थिक वर्ष २०८१÷८२ मा समितिको आम्दानी झण्डै ४४ प्रतिशतले वृद्धि भई झण्डै ५१ प्रतिशतले नाफा वृद्धि भएको आर्थिक प्रगति विवरण प्रस्तुत गरिन् । त्यस्तै उनले आर्थिक वर्ष २०८१÷८२ मा ३८ दशमल शून्य तीन प्रतिशतले लागत खर्चमा समेत वृद्धि भएको जानकारी दिईन् ।

समितिका अध्यक्ष प्रज्वल ढुंगानाले अनेकौं चुनौतीलाई चिर्दै खानेपानीको दिगो व्यवस्थापनका लागि राम्रा प्रयासहरुको थालनी गरिएको बताए । उनले आफूहरुले कार्यभार सम्हालेको समयमा ३८ लाख रहेको संस्थाको आर्थिक वचत तीन वर्षको अवधिमा ८३ लाख पु¥याउन सकेको बताए । उनले संस्थालाई अझ व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन आगामी आर्थिक वर्षको कार्ययोजना समेत प्रस्तुत गरे । जसअनुसार आवश्यकता अनुसार थप दुई थान डिप बोरिङ्ग जडान गर्ने, एकथान ओभरहेड ट्यांकी र एक थान फिल्टर प्लाण्ट जडान गर्ने, करीब १० किलोमिटर पाईपलाई विस्तार तथा राजमार्ग क्षेत्रको पाईपलाईन मापदण्डअनुसार व्यवस्थापन, खानेपानी सेवाको पुनः सर्वे तथा तथ्यांक अध्यावधिक गर्ने, भूकम्पबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा रंगरोगन गर्ने, थप ३५० ओटा नयाँ धारा जडान गर्ने र सार्वजनिक स्थलमा निःशुल्क थारा स्थापना गर्ने लगायतका योजना रहेका छन् ।

उनले समितिले अघि सारेका योजनाहरुमा सहयोग गर्न खानेपानी मन्त्री जवाहारलाल कुशवाहा र डिभिजन खानेपानी तथा सरसफाई कार्यालयलाई समेत आग्रह गरे । उनले खानेपानी संस्था समुदायकै सम्पत्ति भएकोले यसको रेखदेख तथा संरक्षणको दायित्व पनि समुदायले नै लिनु पर्ने भएकोले आफूहरुलाई उचित सुझाहरु दिन उपभोक्ता समक्ष आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सेवा निवृत्त कर्मचारी राजकुमार थापाले यो खानेपानीले सुरु देखि नै समस्याहरुको सामना गर्नु परेकोले यसको कुनै आयू नभएको र यस्तै खाले अर्को आयोजनाको लागि योजना अघि बढाई दिन मन्त्री कुशवाहालाई आग्रह गरे । त्यस्तै विशिष्ट अतिथी पूर्व प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीले अध्यक्ष ढुंगाना नेतृत्वको समितिले अघि सारेका योजना अत्यन्तै राम्रो रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री कुशवाहाले मधेश प्रदेशमा खानेपानीको संकट समाधानका लागि आफूले कार्यदल बनाएर काम गरिरहेको बताए । उनले मधेशका आठओटै जिल्लामा ३७८ ओटा अधुरा खानेपानी आयोजना रहेकोले ती सबैलाई पुनः सञ्चालनमा ल्याउन प्रयास गर्ने बताए । उनले हरिवन खानेपानी तथा सरसफाई संस्थालाई पनि रिसर्वे गरेर अगाडि बढाउन सकिने बताए । उनले आफ्नो क्षेत्रमा भएका खानेपानीको समस्याहरु पहिचान गरी आफूलाई पठाउन निर्देशन दिई सकेकोले हरिवन खानेपानी तथा सरसफाई संस्थाको पनि रिसर्वे गरेर विवतरण पठाउन आग्रह गरे । कार्यक्रममा संस्थाका उपाध्यक्ष विनोद कार्कीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव प्रेम बहादुर महतले गरेको संस्थाका व्यवस्थापक विदुर सुवेदीले जानकारी दिए ।









