ईश्वरपुर,पुस— २६ गते । एक साताअघि वन तस्करबाट हत्या गरिएका वनरक्षक रामईश्वर महतो कोइरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । वन पैदावार विकास समिति मातहतको सागरनाथ वन विकास परियोजना सर्लाही र रतुवामाई वृक्षरोपण आयोजना झापामा कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनको तलब बराबरको १ लाख ४४ हजार ९ सय ३२ रुपैयाँ मृतक महतोको परिवारलाई सहयोग गरेका हुन्।


घटना भएको एक हप्तापछि शनिवार परियोजनाको कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरी उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले चियोचर्चो दैनिलाई जानकारी दिए । उनका अनुसार परियोजनाकै पहलमा विभिन्न व्यक्तिहरूबाट संकलित थप ४ लाख रुपैयाँ मृतकको परिवारको नाममा बैंक खातामा जम्मा गरिएको हो । साथै महतोको काजक्रियाका लागि वन पैदावार विकास समितिबाट २५ हजार र सामाजिक सुरक्षा कोषबाट थप २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ।


ईश्वरपुर नगरपालिका–२ भक्तिपुर राइटरखोर निवासी ५२ वर्षीय वनरक्षक महतो पुस १९ गते शनिवार साइकल चढेर वन गस्तीमा निस्किएका बेला घर नजिकै सागरनाथ वन विकास परियोजनाको भक्तिपुरस्थित प्लट नं. १० मा बीभत्स रूपमा हत्या गरिएका थिए। हत्या भएको भोलिपल्ट आइतवार मात्रै झाडीभित्र उनको टाउको फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी ३५ वर्षीय रामबली महतोलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरी अनुसन्धानबाट रामबली लामो समयदेखि सागरनाथ वन विकास परियोजनाको जंगलमा अवैध रूपमा टिक र मसला जातका काठ काट्दै आएको खुलेको छ। वनरक्षक महतोले पटक–पटक सम्झाउने, रोक्ने र एकपटक पक्राउ गर्न खोज्दा जंगलमै लछारपछारसमेत भएको तथ्य सार्वजनिक भइसकेको छ ।


घटना हुनुभन्दा ४–५ दिनअघि रामईश्वरले चोरी गरी राखिएको दाउरा उठाएर लगेपछि रामबली आक्रोशित बनेको र ‘मार्छु, काट्छु’ भन्ने धम्की दिएको प्रमाणसमेत प्रहरीले संकलन गरिसकेको जनाएको छ। प्रहरीका अनुसार रामबलीलाई घटना भएकै दिन पुस १९ गते जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको थियो। सर्लाही जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय केशरगञ्जमा थप अनुसन्धान भइरहेको छ।


आपन्तका अनुसार महतो शनिवार बिहान करिब ५ बजे रुख काटिएको आवाज सुनेपछि साइकल चढेर वनतर्फ गएका थिए। खोजतलासका क्रममा दिउँसो करिब ३ बजे मृतकका ज्वाइँ वीरबहादुर सिंहले सागरनाथ वन विकास परियोजनाको प्लट नं. १० को बाटोबाट करिब १०० मिटर पूर्वतर्फ झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सागरनाथ वन विकास परियोजनाले वनरक्षक महतोलाई ‘वन संरक्षक शहीद’ घोषणा गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरिसकेको परियोजना प्रमुख विश्वकर्माले बताए। उनका अनुसार वन तस्करको आक्रमणपछि सुरक्षाको स्वरूप परिवर्तन गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा संयुक्त गस्ती सुरु गरिएको छ।