राजिव साह /सर्लाही
पुस-२५ । परिवार नियोजनका स्थायी बन्ध्याकरण सेवा अन्तर्गत मिनिल्याप तथा भ्यासेक्टोमी शल्यक्रिया घुम्ती शिविरको उद्घाटन गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा, मलंगवा नगरपालिकाको सहकार्य तथा मेरी स्टोप्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा शुक्रवार बिहान प्रादेशिक अस्पताल मलंगवामा शिविरको उद्घाटन गरिएको हो।


जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर झाको अध्यक्षता तथा मलंगवा नगरपालिका प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, प्रादेशिक अस्पतालका निमित्त प्रमुख डाक्टर रामप्रकाश साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सचिन यादव, मेरी स्टोप्सका डाक्टर सुरेश साक्य र परिक्षा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै नगर प्रमुख नागेन्द्र प्रसाद यादवले पछिल्लो समय बजेट कटौतीका कारण परिवार नियोजन कार्यक्रम सीमित हुँदै गएको बताउँदै, आगामी दिनमा पनि मलंगवा नगरपालिकाले परिवार नियोजन सेवामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर झाले चालु वर्षमा मात्र सर्लाही जिल्लामा करिब आठ सय जनाले परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा लिइसकेको जानकारी दिए।


दुई दिनसम्म सञ्चालन हुने यस शिविरमा करिब एक सय पचास जनाले सेवा लिने अपेक्षा गरिएको छ ।
प्रमुख झा का अनुसार शिविरमा दक्ष तथा अनुभवी चिकित्सकद्वारा शल्यक्रिया गरिने छ । कार्यक्रमको सञ्चालन मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले गरेका थिए ।