लालबन्दी,पुस—२५ गते । पुसको चिसो बिहान । घडीले करिब पाँच बजेको संकेत गर्दै थियो । ईश्वरपुर नगरपालिका–२ राईटरखोर टोलका ५२ वर्षीय रामेश्वर महतो कोईरी हरेका दिनकझैँ आफ्नो साइकल लिएर घरबाट निस्किए । गन्तव्य थियो,सागरनाथ वन विकास परियोजनाको भक्तिपुरस्थित प्लट नं. १०. त्यो बिहान उनी एक्लै थिए, तर कर्तव्यप्रति दृढ । तर त्यो गस्ती उनको जीवनको अन्तिम यात्रा बन्न पुग्यो ।


दिन बित्दै जाँदा रामेश्वर घर नफर्किएपछि परिवारका सदस्य चिन्तित भए । मोबाइलमा पटकपटक फोन गरे । फोन लाग्यो तर उठेन । केही बेरमै मोबाइल स्विच अफ भयो । मनमा आशंका पलायो । परिवार र आफन्त खोजतलासमा निस्किए । दिउँसो करिब २ः३० बजे जंगलको भित्री भागमा रहेको बनमाराको झाडीले एक भयावह दृश्य लुकाइरहेको थियो । त्यहीँ रगतले लथपथ अवस्थामा रामेश्वर महतो कोईरीको शव टाउको मुनिको भाग भेटियो । जंगल जसलाई उनी जोगाइरहेका थिए, त्यही जंगलले उनको मृत्युको साक्षी बन्यो ।


सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली घटनास्थल पुग्यो । सूक्ष्म निरीक्षण गर्दा घटनास्थल नजिकै रगत लागेको बन्चरो भेटियो । शवबाट करिब ७७ मिटर पूर्वतर्फ NEKISOO लेखिएको कालो चप्पल पनि प्रहरीले फेला पर्यो। प्रहरीले मृतकको टाउको भने घटना भएको दिन शनिवार फेला पार्न सकेन् । स्थानीयवासीहरूले चप्पल र बन्चरो ईश्वरपुर–२ राईटरखोर टोलका रामबलि महतोले प्रयोग गर्ने गरेको बताए । प्रहरी तत्काल उनको घर पुग्यो । घर अगाडि नै भेटिएका रामबलि महतोलाई नियन्त्रणमा लिइयो । खानतलासीका क्रममा सुत्ने कोठामा झुन्ड्याइएको ज्याकेट र जिन्स पाइन्टमा रगतजस्तो रातो दाग भेटियो, जसलाई कानुन बमोजिम प्रहरीले बरामद गर्यो ।


टाउको फेला नपरेपछि थप अनुसन्धानका लागि केनाइन शाखा लालगढ, धनुषाबाट प्रहरी हवल्दार राजु कुमार पाण्डेको कमाण्डमा पाँच जना प्रहरी तथा दुईवटा खोजी कुकुरसहितको टोली साँझ सवा ५ बजे घटनास्थलमा ल्याइयो । अझै टाउको फेता परेन । मृतकको टाउको नजिकैको पोखरीमा फालिएको हुन सक्ने आशंकामा प्रहरीले आइतवार बिहान स्थानीय मलाहको सहयोगमा जाल हानेर खोजी ग¥यो तर फेला पर्न सकेन । पछि खोजीका क्रममा घटना स्थलबाट करिब १०० मिटर उत्तरतर्फ झाडीभित्र आइतवार दिउँसो टाउको फेला पर्यो ।
प्रहरी अनुसन्धानले घटनाको अर्को पाटो उजागर गर्यो । रामबलि महतो लामो समयदेखि सागरनाथ वन विकास परियोजनाको जंगलमा अवैध रूपमा टिक र मसलाको काठ काट्दै आएको खुलेको छ । चौकीदार रामेश्वर महतो कोईरीले पटकपटक उनलाई सम्झाउने, रोक्ने र एकपटक त पक्राउ गर्न खोज्दा जंगलमै लछारपछार भएको तथ्य पनि बाहिर आएको छ ।


घटना हुनु भन्दा ४–५ दिनअघि रामेश्वरले चोरी गरी राखिएको दाउरा उठाएर लगेपछि रामबलि आक्रोशित बनेका रहेछन्। ‘मार्छु, काट्छु’ भन्ने धम्की समेत दिएको प्रमाण प्रहरीले संकलन गरेको छ । वन संरक्षणको जिम्मेवारीमा खटिएका एक इमानदार चौकीदार र अवैध काठ तस्करीमा संलग्न व्यक्तिबीचको यो द्वन्द्व अन्ततः ज्यान लिने हिंसामा परिणत भयो।
प्रहरीले रामबलि महतोलाई घट्ना भएकै दिन पुस १९ गते शनिवार जरुरी पक्राउ पुर्जी दिई नियन्त्रणमा लिएको र सर्लाही जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय केशरगञ्जमा थप अनुसन्धान भइरहेको जनाएको छ । रामेश्वर महतो कोईरीको हत्या केवल एक व्यक्तिको मृत्यु मात्र होइन । यो वन संरक्षणमा खटिने श्रमिकहरूको सुरक्षामाथि उठेको गम्भीर प्रश्न पनि हो। जंगल जोगाउनेहरू कति सुरक्षित छन् भन्ने प्रश्नको आज सर्लाहीको जंगलले मौन उत्तर दिइरहेको छ ।