
लालबन्दी,पुस–२०। सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर जंगल टोलको भित्री सडक खण्डबाट प्रतिबन्धित लागुऔषध गाँजासहित भारतीय नम्बरको कार र एक मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आइतवर बिहान करिब ५ बजेको समयमा डाबरीबाट लालबन्दी तर्फ आउदै गरेको बीआर ०२ पीबी २२२६ नम्बरको खरानी रंगको माराज्जो एम टु कार र बागमती प्रदेश ०६–०२ प १७७० नम्बरको रातो/कालो रंगको १२५ सीसीको टिभिएस रेडर मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्न खोज्दा मोटरसाइकल चालक नरोकी तीव्र गतिमा फरार भएका थिए।

प्रहरीले पिछा गरी मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१ नवलपुर बस्ने ३२ वर्षीय नुरहसन साहलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त भारतीय नम्बरको कारमा प्रतिबन्धित लागुऔषध गाँजा रहेको खुलेको हो। उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट तत्काल प्रहरी टोली खटिएर फरार कारको खोजी गर्दा लालबन्दी नगरपालिका–१ जंगल टोलस्थित लालबाबु महतोको घरमा ठोकाएर चालक फरार रहेको अवस्थामा कार फेलापरेको प्रहरीले जनाएको छ ।

कारको चेकजाँच गर्दा सिट पछाडि लुकाई छिपाई राखिएको प्लास्टिकले बेरिएको पन्ध्र पोका प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको र उक्त गाँजाको तौल ६० केजी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। प्रहरीले गाँजासहित कार, मोटरसाइकल र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिलाई लागुऔषध मुद्दामा सर्लाही जिल्ला अदालतबाट आठ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।









