लालबन्दी, पुस २० । लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले अन्तरक्याम्पस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । स्ववियुले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ‘एफएसयु क्रिकेट कप–२०८२’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।


प्रतियोगिता यही पुस २८ गतेदेखि लालबन्दी नगरपालिका–५ मा रहेको गोल्डेन फ्यूचर एकेडेमीको मैदानमा सुरु हुने जनज्योति बहुमुखी क्याम्पसका स्ववियु सभापति समिर सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिता यस वर्ष टेनिस बलमा सञ्चालन गरिनेछ भने आगामी वर्षदेखि ड्युस बल प्रयोग गरिने योजना रहेको छ।


प्रतियोगितामा जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी, सर्लाही क्याम्पस मलंगवा र जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगापुर रौतहट सहभागी हुनेछन् । एक हप्तासम्म चल्ने लिग प्रणालीको प्रतियोगितामा हरेक दिन दुईवटा खेल सञ्चालन हुनेछन्। आयोजकका अनुसार पहिलो खेल बिहान १० बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ ।


क्याम्पस–क्याम्पसबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्नु, विद्यार्थीहरूबीच एकताको भावना अभिवृद्धि गर्नु तथा नगर, जिल्ला र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। साथै प्रतियोगिताले लालबन्दी नगरपालिकाको प्रचारप्रसारमा टेवा पुग्नुका साथै खेल पर्यटनको आकर्षण बढ्ने विश्वास लिइएको छ ।


सभापति सिंहका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खर्च व्यवस्थापनका लागि लालबन्दी नगरपालिकासँग प्रस्ताव गरिएको र नपुग रकम क्याम्पस तथा खेलप्रेमी महानुभावहरूको सहयोगबाट जुट्ने अपेक्षा गरिएको उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई २५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ। साथै ‘म्यान अफ द म्याच’, मेडल र प्रमाणपत्रसमेत वितरण गरिने आयोजकले जनाएको छ। आगामी वर्षदेखि कक्षा १२ (प्लस टु) तहका टिमहरूलाई पनि सहभागिता गराउने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।