
मलंगवा,पुस—१६ । नेपाली कांग्रेस सर्लाहीले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा बुझाएको उम्मेदवार सूचीप्रति गम्भीर आपत्ति जनाएको छ। भारतमा बसि दुई दशक देख उतै व्यसाय गरि उतैको आधार कार्डसमेत भएका भारतीय नागरिलाई समानुपातिक सूचीमा राखेको भन्दै जिल्ला कार्यसमितिले उक्त निर्णयप्रति आश्चर्य र स्तब्धता प्रकट गर्दै केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षण तथा भत्र्सना पत्र पठाएको हो ।

सर्लाही कांग्रेसका अनुसार जिल्लाबाट समानुपातिकतर्फ सिफारिस गरिएका मो. अन्सार खाँ पार्टीको कुनै पनि तहको समितिबाट सिफारिस नभएको तथा संगठनमा सक्रिय नरहेको व्यक्ति भएको जिकिर गरिएको छ । “विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गर्दै आएका व्यक्तिलाई कुन मापदण्डका आधारमा समानुपातिक सूचीमा समावेश गरियो भन्ने विषय शंकास्पद रहेको जिल्ला समितिको ठहर छ”, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्रमा केन्द्रीय समितिको यस प्रकारको निर्णयले जिल्लामा बसेर वर्षौँदेखि पार्टी संगठन विस्तारमा खटिएका कार्यकर्ताको आत्मबल गिरेको, संगठनभित्र असन्तुष्टि र विद्रोहको भावना बढेको उल्लेख गरिएको छ। “संगठनमा बसेर किन काम गर्ने ?” भन्ने प्रश्न कार्यकर्तामाझ उठ्न थालेको नेपाली कांग्रेस सर्लाहीका कर्याबहाक सभापति डा. सरोजकुृमारले बताए । पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा यस्ता निर्णयले संगठनलाई थप क्षति पु¥याउने भन्दै सर्लाही कांग्रेसले पहुँच, पैसा र पावरका आधारमा बाहिरबाट आउने अवसरवादी व्यक्तिहरूलाई प्राथमिकता दिनु घोर अन्याय भएको उल्लेख गरेको छ।

जिल्ला कार्यसमितिले समानुपातिक उम्मेदवारको नामावली यथाशीघ्र सच्याउन केन्द्रीय कार्यसमितिसँग जोडदार माग गरेको छ। साथै, आगामी दिनमा जिल्लामै बसेर दिनरात संगठनमा काम गरेका समर्पित कार्यकर्तालाई प्राथमिकतामा राखी सिफारिस गर्न समेत केन्द्रीय नेतृत्वलाई पत्र मार्फत सचेत गराइएको छ। ध्यानाकर्षण पत्र नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति, मधेश प्रदेश कार्यसमिति तथा सम्बन्धित निकायहरूलाई बोधार्थ पठाइएको नेपाली कांग्रेस सर्लाहीका कार्यहाक सभापति डा. सरोज कुमारले बताए ।










