संघसंस्थाद्वारा राहतका कार्यक्रम सञ्चालन


लालबन्दी, पुस १३ । सर्लाहीसहित तराई मधेशका जिल्लाहरूमा झण्डै दुई सातादेखि लागेको हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिम तराईमा हुस्सु तथा मधेश प्रदेशमा कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण विशेषगरी यहाँका विपन्न नागरिकको दैनिक जीवन कठिन बनेको छ । मजदुरी गरेर परिवार पाल्दै आएका नागरिकहरूलाई चिसो मौसमले जीविकोपार्जन गर्नै कठिन अवस्था सिर्जना गरेको छ । न्यानो कपडाको अभावमा उनीहरू घरबाहिर निस्कनसमेत सकेका छैनन् ।


अत्यधिक चिसोका कारण बालबालिका तथा वृद्धवृद्धामा निमोनिया र दमजस्ता समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन् । अस्पतालहरूमा चिसोबाट प्रभावित बिरामीको चाप बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पनि तराई क्षेत्रमा हुस्सु र कुहिरोको प्रभाव कायमै रहनेछ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
लगातारको शीतलहर र चिसोका कारण तराई–मधेशमा पशुचौपाया र कृषि बालीमा समेत नकारात्मक असर परेको छ । आलु, तोरीलगायतका बालीमा ढुसी र डढुवा रोगको प्रकोप बढ्दै गएको किसानहरूले बताएका छन् । यस वर्ष दशैंताका अविरल वर्षाका कारण तरकारी बालीमा क्षति पुगेको थियो । सो क्षतिको पूर्ति गर्न नपाउँदै शीतलहरले तरकारी बाली थप नष्ट गरेको किसानहरूको गुनासो छ ।
यसैबीच जिल्लामा विभिन्न संघ संस्था तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चिसोबाट प्रभावित नागरिकका लागि राहतका कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।


जिल्लाको बलरा, हरिपुर र ईश्वरपुर नगरपालिकामा सेभ द चिल्ड्रेनले नगरपालिकाको सहयोग तथा समन्वयमा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेको छ । प्रहरीले जिल्लाका विभिन्न सामुदायिक वनसँग समन्वय गरी आगो ताप्नका लागि दाउरा वितरण गरेको छ ।
बलरा नगरपालिकाका वडा नं. ४, ६ र ९ का गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको नगरप्रमुख रामाशंकर कुशवाहाले जानकारी दिए । उनका अनुसार ती तीन वडामा गरी ४७० थान कम्बल वितरण गरिएको हो । उक्त वडाहरूमा दुसाध, चमार, मल्लाहलगायत दलित तथा विपन्न समुदायको बसोबास रहेको छ । राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवा र बलरा नगरपालिकाको समन्वयमा कम्बल वितरण गरिएको उनले बताए । चिसो अझै बढ्ने सम्भावना रहेकाले विपन्न परिवारलाई जोगाउन राहत वितरण गरिएको नगरप्रमुख कुशवाहाको भनाइ छ ।


यता ईश्वरपुर नगरपालिकामा ग्रामीण नारी उत्थान संघ, हरिपुरले चिसो प्रभावित विपन्न तथा दलित परिवारलाई कम्बल वितरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा संस्थाले हरिपुर र ईश्वरपुर नगरपालिकाका चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेको हो । ईश्वरपुर नगरपालिकाका वडा नं. १, ४, ७, १० र ११ मा शीतलहर प्रभावित परिवारलाई नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा ६८९ थान कम्बल वितरण गरिएको संस्थाले जनाएको छ । यसअघि  हरिपुर नगरपालिकाका वडा नं. १, २, ४, ५, ७, ८ र ९ मा ५७६ थान कम्बल वितरण गरिएको पनि संस्थाले जानकारी दिएको छ ।