
लालबन्दी, मंसिर—२८ गते । सर्लाही प्रहरीले अवैध लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । पछिल्लो एक साता भित्र प्रहरीले ठूलो परिमाणमा लगाइएको गाँजा खेती फडानी, गाँजा ओसारपसार तथा लागूऔषध हिरोइन लुकाइछिपाइ राख्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

शनिवार बिहान अन्दाजी साढे ११ बजे जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी लगायत मातहतका प्रहरी कार्यालयबाट खटिएको १०० जना तथा सशस्त्र प्रहरी सुरक्षा बेस हरिवनबाट खटिएका ३० जना गरी जम्मा १३० जनाको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा करिब ४० बिगाहा जग्गामा अवैध रूपमा लगाइएको गाँजा फडानी गरि नष्ट गरेको जनाएको छ ।
सर्लाही प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार विहान साढे ११ बजे देखि साँझ ५ बजे सम्म झण्डै ६ घण्टा लगाएर उक्त क्षेत्रमा लगाइएको करिब २ लाख गाँजाका बोट फडानी गरि नष्ट गरिएको हो । यस अघि बिहिवार जिल्लाकै चुरेवर्ती क्षेत्र ईश्वरपुर नगरपालिका–१२, पिपलदमारमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सर्लाहीको दुर्गम भू–भाग हुँदै सिन्धुली सीमासम्म पुगेर करिब साँढे ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरेको हो । सुरक्षाकर्मीको साझेदारीमा गरिएको उक्त अभियानअन्तर्गत करीब १८,५०० बोट गाँजा काटी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१२ अन्तर्गत हरिवनबाट बेल्हीतर्फ जाने बागमती सिँचाइ नहरको बाटोमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ ठुलो घुम्ने टोलका २९ वर्षीय कान्छा राम स्याङतान र २५ वर्षीय मानबहादुर ठोकर रहेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले शनिवार बिहान करिब पौने ६ बजे प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको २२० सीसी क्षमताको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको बीच भागमा प्लास्टिकको बोराभित्र लुकाइ राखिएको गाँजा फेला परेको थियो।

प्रहरीले ६ पोका रातो प्लास्टिकले बेरिएको ३१ केजी ५९० ग्राम गाँजा, प्रयोग गरिएको मोटरसाइकल, दुई थान किप्याड मोबाइल, एक थान स्क्रिन टच मोबाइल, नेपाली रुपैयाँ ७१ हजार ५७५, भारतीय रुपैयाँ ९ हजार ७ सय, लक्ष्मी सनराइज बैंकको एटीएम कार्ड तथा एउटा खाली छालाको झोला बरामद गरेको जनाएको छ। उनीहरूलाई आइतबार सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।


त्यस्तै, लालबन्दीबाट प्रतिबन्धित लागूऔषध हिरोइन पनि बरामद गरिएको छ। शनिवार साँझ करिब ६ बजे लालबन्दी नगरपालिका–५ डाँडा टोलस्थित निर्माणाधीन घरमा हिरोइन लुकाइ राखिएको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गर्दा इश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भई हाल लालबन्दी–५ मा होस्टल सञ्चालन गर्दै आएका ३४ वर्षीय सुवास लामिछानेको घरको कोठाभित्र इँटाको प्वालमा लुकाइ राखिएको २१२ ग्राम हिरोइन जस्तो देखिने सेतो धुलो पदार्थ फेला परेको थियो।
लामिछानेलाई प्रतिबन्धित लागूऔषध नियन्त्रणमा लिई आइतवार अदालतबाट लागू औषध मुद्दामा १० दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रवक्ता तथा सूचना अधिकारीराईले जानकारी दिए।









