
हरिवन, मंसिर २७ गते । जेसीआई हरिवन सिटीद्वारा आयोजित जेसीज सप्ताह २०२५ को समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री जंगीलाल रायको प्रमुख आतिथ्यता तथा जेसीआई हरिवन सिटीका अध्यक्ष रामप्रवेस दासको अध्यक्षतामा शनिवार साँझ सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री रायले १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई समेटेर जेसीआईले देशमा सक्षम, सव्य र जिम्मेवार नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान, मानवसेवा आश्रममा आवश्यक सामग्री वितरण, विद्यालयमा ब्याग वितरण तथा स्लो स्कुटी र स्लो साइकल रेसजस्ता रचनात्मक कार्यक्रमहरू आयोजना गरेर जेसीआईले प्रशंसनीय र प्रेरणादायी कार्य गरेको उल्लेख गरे । साथै, समाजमा युवाहरूलाई एकआपसमा जोड्न जेसीआईको भूमिका महत्वपूर्ण रहेको उनले बताए।


कार्यक्रममा जेसीज सप्ताहका संयोजकहरू, सल्लाहकारहरू तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जेसीआई हरिवन सिटीले रक्तदान कार्यक्रम, मानवसेवा आश्रममा आवश्यक सामग्री वितरण, विद्यालयमा ब्याग वितरण तथा स्लो स्कुटी र स्लो साइकल रेस आयोजना गरेको थियो । स्लो स्कुटी रेसमा प्रथम हुने अन्जिता भुजेल र स्लो साइकल रेसमा प्रथम हुने प्रितम थापालाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा महासचिव ईश्वर धमलाले स्वागत मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य पूर्व प्रधानाध्यापक जयशंकर सिंहले व्यक्त गरेका थिए । यस्तै कानुनी सल्लाहकार राजेश प्रसाद चौधरी, उद्योग वाणिज्य संघ हरिवनका वरिष्ठ उपाध्यक्ष राजन केशरी, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, लालबन्दी जेसीआई २०२५ की अध्यक्ष सुनिता (खरेल) थपलिया तथा जेसीआई हरिवन सिटी वर्ष २०२४ का अध्यक्ष राजेश प्रसाद चौधरीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा अतिथिहरूलाई संस्थाको तर्फबाट सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको समापनसँगै रात्री भोजको समेत आयोजना गरिएको थियो । संस्थाका पदाधिकारीहरूले सीमित स्रोतसाधनका बाबजुद आपसी सहयोग र समन्वयमार्फत कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताएका थिए ।









