
सर्लाही, मंसिर —२४ गते । ‘मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धता’ भन्ने नारासहित आज विश्वभर मनाइँदै गरेको ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदैछ। मानव अधिकारप्रतिको चेतना विस्तार र समानतामूलक समाज निर्माणका लक्ष्यसहित जिल्लाभर कार्यक्रहरू सञ्चालन हुँदैछन्।

दिवसकै अवसरमा सर्लाही सदरमुकाम मलंगवामा बिहान ११ बजे सुरु हुदै छ। स्थानीय निकायका प्रतिनिधि, मानव अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी तथा समुदायस्तरीय संस्था–संगठनहरूको सहभागितामा कार्यक्रमहरु आयोजना गरिन लागिएको हो । यस्तै, एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ७८, लालबन्दीले पनि विश्व मानव अधिकार दिवसलाई अर्थपूर्ण बनाउन विभिन्न कार्यक्रम आयोजना गर्दैछ। समूहका संयोजक कमलप्रसाद पौडेलले मानव अधिकार दिवसले समाजमा अधिकारप्रतिको जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।


दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा विभिन्न राजनीतिक दलहरूले शुभकामना सन्देश दिएका छन्। उनीहरूले मानव अधिकारको संरक्षणमा राज्य, समाज र नागरिक सबैको समान जिम्मेवारी रहने भन्दै अधिकार कार्यान्वयनमा प्रभावकारी प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

सन् १९४ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र को स्मरणमा हरेक वर्षजस्तै यसपटक पनि दिवस मनाइँदैछ। घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबै मान्छेलाई समान अधिकार सुनिश्चित गरेको छ। नेपालले पनि नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी १९६६ र मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९ लगायतका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू अंगीकार गरिसकेको छ। साथै नेपालको संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्र रूपमा भेला हुने अधिकार र संगठन खोल्ने स्वतन्त्रता जस्ता मौलिक अधिकारहरू स्पष्ट रूपमा सुनिश्चित गरेको छ। यसैगरी सरकारले मानव अधिकारकर्मी सुरक्षा तथा संरक्षण आदेश, २०७७ जारी गरी अधिकारकर्मीको भूमिकालाई संस्थागत संरक्षण प्रदान गर्ने प्रयास गरेको छ।

सर्लाहीका विभिन्न विद्यालय, युवा समूह, नागरिक समाज र सामाजिक संस्थाहरूले आजको दिनलाई विशेष बनाउँदै सचेतना र्याली, अन्तरक्रिया कार्यक्रम तथा मानव अधिकारसम्बन्धी प्रतिवद्धता–पत्र वाचनजस्ता गतिविधिहरू सञ्चालन गर्दै छन्। मानव मर्यादा, समानता र न्यायप्रतिको सम्मानमा सबैलाई प्रेरित गर्ने उद्देश्यसहित जिल्लाभर दिवस मनाइँदैछ।









