
लालबन्दी, मंसिर— २३ गते । नेपाली कांग्रेस सर्लाहीमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाइएको छ । जिल्लाका चारै क्षेत्रमा फरक–फरक अवस्था देखिएपछि कांग्रेसभित्र स्थानीय नेतृत्व र अन्य क्षेत्रबाट आउने आकांक्षी मुख्य बहसको बहसको विषय बनेको छ ।

क्षेत्र नम्बर–१(ख) ले अन्य क्षेत्रबाट आएर चुनाव लड्न सिफारिस माग्ने कुनै पनि उम्मेदवारलाई सिफारिस नदिने निर्णय गरेको छ । क्षेत्र नम्बर–१(ख) का सभापति सीताराम दाहालको सभापतित्वमा मंगलवार बसेको बैठकले आगामी निर्वाचनका लागि स्थानीय कार्यकर्ताको मनोभावनाविपरीत अन्य क्षेत्रबाट आएर जबर्जस्ती उम्मेदवारी दिने व्यक्तिहरूलाई बहिष्कार गर्ने निर्णय गरेको नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य रामबाबु साहले चियोचर्चो दैनिकलाई जानकारी दिए ।


उता क्षेत्र नम्बर–२ मा आकांक्षी धेरै भएपछि बैठकले कुनै नाम टुंगो लगाउन सकेन। मंगलवार बसेको बैठकले अब उम्मेदवार सिफारिस गर्ने जिम्मेवारी क्षेत्रीय कार्य समितिलाई दिएको छ। सभापति कौशलकिशोर रायका अनुसार कार्य समिति बैठक चाँडै बस्नेछ र प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका नाम तय गर्नेछ ।
यसैबीच क्षेत्र नम्बर–३ मा सभापति अस्वस्थ भएकाले बैठक बस्न सकेन। अब एक–दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको जिल्ला सचिव निरज कार्कीले बताए ।

मंगलवारनै उम्मेदवारको नाम टुंग्याउदै सर्लाही क्षेत्र नम्बर–४ ले प्रत्यक्षतर्फ पार्टी महामन्त्री गगनकुमार थापा र मधेश प्रदेश उपसभापति, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री वीरन्द्रप्रसाद सिंहको नाम सिफारिस गर्ने निर्णय गरिसकेको क्षेत्रीय सभापति रामआश्रय साहले जानकारी दिए ।

थापाले केही दिनअघि नेपाल प्रेस युनियन सर्लाहीले मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा आफू काठमाडौँबाटै चुनाव लड्ने बताएका थिए । मंगलवार सहमती हुन नसकेको सर्लाही क्षेत्र नम्बर १ मा बुधवार(आज) सहमति गरेर नाम टुंगो लाग्ने र मंसिर २६ गते बस्ने जिल्ला कार्य समिति बैठकले अन्तिम सिफारिस गर्ने छ । सर्लाही कांग्रेसमा उम्मेदवार आकांक्षीहरूको भीडले आन्तरिक राजनीति निकै चलायमान बनाएको छ ।









