लालबन्दी, मंसिर २३ गते। नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर–१(ख) ले अन्य क्षेत्रबाट आएर क्षेत्र नम्बर–१ मा चुनाव लड्न सिफारिस माग्ने कुनै पनि उम्मेदवारलाई सिफारिस नदिने निर्णय गरेको छ।

क्षेत्र नम्बर–१(ख) का सभापति सीताराम दाहालको सभापतित्वमा मंगलबार बसेको बैठकले आगामी निर्वाचनका लागि स्थानीय कार्यकर्ताको मनोभावनाविपरीत अन्य क्षेत्रबाट आएर जबर्जस्ती उम्मेदवारी दिने व्यक्ति­हरूलाई बहिष्कार गर्ने निर्णय गरेको नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य रामबाबु साहले जानकारी दिए।

साहका अनुसार बैठकमा पुरानो क्रियाशील सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार छनोट सम्बन्धी विषयमा छलफल गरिएको थियो।

क्षेत्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पालिका तथा वडा सभापतिको उपस्थितिमा केहीबेरमा सर्लाही क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको अर्को बैठक बस्ने कार्यतालिका  रहेको छ।