
लालबन्दी, मंसिर १० । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मंगलवार साँझ करिब ७ः४० बजे आगोले जलेर लडिरहेको अवस्थामा देखिएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार खबर पाए पछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बीरेन्द्र सिंह जोहारीको कमान्डमा खटिएको टोलीले साँझ ८ बजे घटनास्थल पुगेको थियो । प्रहरीले ४०–४५ वर्ष उमेरका, नामथर नखुलेका ती पुरुष ९० प्रतिशत शरीर जलेको अवस्थामा भेटिएका थिए । उनलाई तत्काल उपचारका लागि नजिकै रहेको सीटी हेल्थ केयर लालबन्दी पु¥याइएको प्रहरीले जनाएको छ ।

अवस्था गम्भीर हुँदै गएपछि राति ९ बजे एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो। राति करिब २ः१० बजे उपचारकै क्रममा ती पुरुषको मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । अस्पतालमा रहेका मृतकका मोबाइलमार्फत आफन्त संग सम्पर्क भएपछि उनी झापा जिल्ला, गौरादह नगरपालिका–२ का धनपती पोखरेलका ५५ वर्षीय छोरा सूर्य प्रसाद पोखरेल भएको पुष्टि भएको हो।

मृतकको आफन्त कुमार ढकालसँग सम्पर्क भएपछि उनीहरू घटनास्थलतर्फ आउनेक्रममा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मंलंगवाका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए ।










