
मलंगवा, मंसिर—२ गते । सर्लाहीमा ट्रान्सफर्मर चोरी नियन्त्रण गर्न प्रहरीले चलाएको ‘अप्रेसन चार्ली’ सफल भएको छ । पछिल्लो समय जिल्लाका विभिन्न ग्रामीण बस्तीमा लगातार हुँदै आएको कृषि सिँचाइका ट्रान्सफर्मर चोरीका घटनाले यहाँका किसानहरू त्रसित थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले मंगलवार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी उक्त चोरी घटनामा संलग्न ९ जनालाई सार्वजनिक गरेको छ । पक्राउ परेकामध्ये ४ भारतीय नागरिकसहित इलाम, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा र बाराका व्यक्तिहरू रहेको प्रहरीले जानकारी दिएको छ । पछिल्ला महिना दिनयता बागमती, रानीगञ्ज, चन्द्रनगरलगायतका स्थानमा १७ वटा ट्रान्सफर्मर क्रमश ः चोरी भएपछि प्रहरीले ‘अप्रेसन चार्ली’ नामक विशेष टोली परिचालन गरी महोत्तरी, बारा, पर्सालगायत जिल्लाबाट चोर पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकामध्ये इलामको माइजोगमाइ गाउँपालिका–४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१ का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिबास नगरपालिका–३ का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ३३ वर्षीय दिलिपकुमार ओझा र बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ का ३९ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन् । साथै भारतीय नागरिक ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोजकुमार सहनी, ५५ वर्षीय मोहम्मद रयाजुल र ३५ वर्षीय संजित पदार्थ समेत पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट चोरी गरिएको विद्युत् ट्रान्सफर्मरको १०३.८ केजी तामाको तार, चोरीमा प्रयोग गरिएका ५१ थान औजार र दुई थान ई–रिक्सा समेत बरामद गरेको छ । ट्रान्सफर्मरको अवस्थिति भेट्टाउन भारतीय नागरिक सुखाडी सहनीले नेपालका सदस्यहरूसँग मिलेर एकान्त स्थानहरूमा ‘रिक्की’ (सूचना संकलन) गर्ने र त्यसपछि भारतीय तथा स्थानीय सदस्यहरू मिलेर रातिको समयमा चोरी कार्य गर्ने गरेको अनुसन्धान बाट खुलेको छ ।

सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध विभिन्न जिल्लामा चोरी तथा डाँकासम्बन्धी चारवटा मुद्दा दर्ता रहेको, महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान, डाँका र अभद्र व्यवहारका गरी चार मुद्दा रहेको तथ्य पनि प्रहरीले सार्वजनिक गरेको छ । यस्तै, बाराका कृष्ण श्रीवास्तवको गढिमाई मेटल प्रा.लि.मा चोरी गरिएका ट्रान्सफर्मरका तामा पगाली भाँडाकुँडा बनाइ बिक्री गर्ने कार्य हुँदै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूले प्रहरीलाई दिएको अनुमानित मुल्या अनुसार ५० के.भी. क्षमताको एक ट्रान्सफर्मर चोरी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ र १०० के.भी. क्षमताको ट्रान्सफर्मर चोरी हुँदा ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति हुने गर्दछ । सर्लाहीमा चोरी भएका अधिकांश ट्रान्सफर्मर १०० के.भी. क्षमताका भएकाले १७ वटा ट्रान्सफर्मर चोरीबाट करिब एक करोड १० लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

ट्रान्सफर्मर चोरीका कारण जिल्लाका धेरै किसानहरू सिँचाइ सुविधाबाट बञ्चित भएका थिए । बाली उत्पादनको मुख्य समयमा खेत–बारीमा पानी लगाउन नसक्दा कृषकहरू चिन्तित बनेका थिए । रातारात ट्रान्सफर्मर चोरीने क्रमले सिँचाइ प्रणाली अवरुद्ध हुनुकासाथै ग्रामीण क्षेत्रमा विद्युत आपूर्तिको विश्वसनीयतामै प्रश्न उठेको थियो ।
प्रहरीले आगामी दिनमा यस्ता संगठित चोरी तथा अवैध धातु कारोबार नियन्त्रण गर्न थप कडाइ गर्दै कृषकहरूलाई राहत हुने गरि स्थानीय तहसँग समन्वय गरी निगरानी बढाइने जनाएको छ ।









