
लालबन्दी, मंसिर— १ गते । सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित शिव मन्दिर नजिक लखनदेही खोलाको भित्रि बाटोबाट ठूलो परिमाणको गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको मोबाइल गस्ती टोलीले सोमवार बिहान करिब ५ः०० बजे चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार राति १२ः०० बजेदेखि बिहान ६ः०० बजेसम्मको नियमित मोबाइल गस्तीमा प्र.स.नि. शुसिल राउतको कमाण्डमा रहेको टोलीले प्र.२–०३००१ ह–३२८ नम्बरको अटो र ना.६०प ५५६ नम्बरको पल्सर मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा अवैध गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार अटोमा रातो प्लास्टिकमा डोरीले बाँधिएको एक पोका र मोटरसाइकलमा थप ६ पोका गाँजा भेटिएको थियो। मोटरसाइकल चालक भने फरार भएका र अटो चालक, हरिवन नगरपालिका–१ पटौना निवासी ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा जानकारी पाएपछि प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा अतिरिक्त प्रहरी टोली परिचालन गरी बरामद गरिएको गाँजा, दुबै सवारी साधन र पक्राउ परेका व्यक्तिलाई ईलाकाप्रहरी कार्यालय लालबन्दीमा ल्याइएको बताइएको छ ।

बरामद गरिएको गाँजाको तौल प्लास्टिकसहित ३८ किलो ८९० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र पक्राउ परेका व्यक्तिमाथि सम्मानित अदालतबाट ७ दिन थुनाम्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारी जानकारी दिए ।










