मलंगवा, कात्तिक—२७ गते । जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामु राज कडरियाको अध्यक्षतामा उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरका उद्योग वाणिज्य संघका अध्यक्ष, संघका प्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लामा औद्योगिक तथा व्यावसायिक वातावरण सुदृढ बनाउन शान्ति सुरक्षा, औद्योगिक विस्तारका क्रममा देखिएका समस्या र तिनका समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।


कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले व्यापार सहजीकरणका लागि विभिन्न सुझाव र माग प्रस्तुत गरेका थिए । प्रस्तुत माग र सुझावमध्ये स्थानीय तहबाट समाधान गर्न सकिने समस्या तत्काल समाधान गर्ने र माथिल्लो निकायबाट समाधान गर्नुपर्ने विषय सम्बन्धित निकायमा पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।


अन्तरक्रियामा प्रतिस्पर्धात्मक बजार कायम गर्न जिल्ला सुरक्षा संयन्त्र, सरकारी कार्यालय, उद्योग वाणिज्य संघलगायत सरोकारवाला निकायबीच आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन सहमति भएको छ । अन्तरक्रियामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सरोकारवाला अधिकारीहरूको उपस्थिति रहेको थियो ।