
सर्लाही,कात्तिक—२७ गते । मधेश प्रदेश सभा सचिवालयले सर्लाहीका तीन जना प्रदेश सभा सदस्यको पद रिक्त भएको जनाएको छ । लगातार १० वटा बैठकमा अनुपस्थित रहेका कारण उनीहरूलाई नेपालको संविधानको धारा १८० (घ) बमोजिम प्रदेश सभा सदस्य पदबाट मुक्त गरिएको हो ।

सचिवालयले बिहिवार जारी गरेको सूचनाअनुसार माननीय उर्मिला देवी सिंह, माननीय संजय कुमार यादव सर्लाही–३ (२) र माननीय सिंहासन सा कलवार (सर्लाही–४ (२) सहित पाँच जना सदस्यको पद रिक्त भएको जानकारी दिएको हो ।
प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम जारी सूचनामा भनिएको छ, प्रदेश सभा बैठकको अभिलेखका आधारमा उनीहरू १० वटा बैठकमा लगातार अनुपस्थित रहेकाले कात्तिक २७ गतेदेखि प्रदेश सभा सदस्यको पदबाट मुक्त भएको हुँदा उक्त स्थिान रिक्त मानिएको हो।

मधेश प्रदेश सभा सचिवालयका अनुसार अन्य पदमुक्त सदस्यहरूमा सप्तरीकी माननीय मनिष कुमार सुमन र बाराकी माननीय सारदा संकर प्रसाद कलवार पनि रहेका छन्। सर्लाहीमा भने तीन जना प्रतिनिधि एकैसाथ पदमुक्त भएपछि प्रदेश सभामा जिल्लाको प्रतिनिधित्व कम भएको छ।
मधेश प्रदेश सभा सचिवालयले पाँच प्रदेशसभा सदस्यको पद रिक्त गर्ने सूचना बदर
उता अर्काे सूचना मार्फत मधेश प्रदेश सभा सचिवालयले बिहिवार जारी पाँच जना माननीय प्रदेश सभा सदस्यहरूको पद रिक्त सम्बन्धी सूचना बदर गरेको छ । उपसभामुख मा. बबिता कुमारी राउत ईशरद्वारा जारी गरिएको सूचनामा सभामुखले भावावेशमा लिएर गरिएको निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको उल्लेख गरिएको छ ।
सचिवालयका अनुसार २०८२÷०७÷२७ मा सभामुखविरुद्ध “पदअनुकूल आचरण नगरेको“ भनी प्रस्ताव आएको थियो। प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८०(२)(क) अनुसार यस्तो प्रस्ताव उपसभामुखसमक्ष पेश गरिनुपर्ने व्यवस्था छ । प्रस्ताव पेश भइसकेको र नियम १८०(३) अनुसार छलफलको मिति तोकिँदै गर्दा सभामुखले पाँच सदस्यको पद रिक्त घोषणा गरेका थिए, जुन प्रतिशोधको मनसायले गरिएको निर्णय भएको उपसभामुखले स्पष्ट पारेकी छन्।

यसबाहेक, पछिल्लो विश्वासको मत सम्बन्धी गत कात्र्तिक २२ गतेको बैठकमा सो सूचनामा नाम रहेका सबै माननीय सदस्यहरू उपस्थित रहेको हाजिरी दर्ता तथा भिडियो रेकर्डसमेतबाट प्रमाणित भएको सचिवालयले जनाएको छ। त्यसैले उनीहरू पद रिक्तको दायरामा नपर्ने ठहर भएको छ। उपसभामुख राउत ईशरद्वारा जारी सूचनामा भनिएको छ, ‘पद रिक्तको निर्णयका आधार कमजोर र प्रक्रिया विपरीत रहेकाले सो सूचना बदर गरिएको छ र सम्बन्धित सबै पक्षहरूलाई जानकारी गराइन्छ’ ।
अर्काे सूचना मार्फत बदर










