
लालबन्दी, कात्तिक—२२ गते । लालबन्दी नगरपालिकाको वडा नं. ११ हीरापुरले उत्कृष्ट प्रदर्शनसहित आठौं लालबन्दी नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिवार पत्थरकोटस्थित छेडा खेलमैदानमा सम्पन्न फाइनलमा हीरापुरले आयोजक वडा नं. १३ पत्थरकोटलाई २–० गोलले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो ।
हीरापुरका खेलाडी शान्ता बल प्रतियोगिताका निर्णायक बने। उनले खेलको पहिलो हाफमै लगातार दुई गोल गर्दै टोलीलाई जितको नजिक पुर्याए । उनका ती दुई गोल नै उपाधिको लागि निर्णायक सावित भए । दोस्रो हाफमा आयोजक टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न असफल रहँदा उपाधि हातबाट फुत्किएको थियो।

प्रतियोगिताको सेमिफाइनलमा पत्थरकोटले तीन पटकको विजेता वडा नं. १६ परवानीपुरलाई टाइब्रेकरमा हराउँदै फाइनल स्थान बनाएको थियो। हीरापुरले भने वडा नं. ३ जब्दीलाई पराजित गर्दै अन्तिम चरणमा स्थान सुरक्षित गरेको थियो। विजेता हीरापुरले ट्रफीसहित नगद एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता पत्थरकोटले ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो भने तेस्रो स्थानमा रहेको वडा नं. ३ ले ३३ हजार ३३३ रुपैयाँ हात पार्यो ।

समापन समारोहमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, वडा नं. १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यलगायत अतिथिहरूले विजेता, उपविजेता तथा तेस्रो भएका टिमलाई पुरस्कार वितरण गरेका थिए । लालबन्दी नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिता लालबन्दी नगरपालिकाको खेलकुद विकासमा योगदान पु¥याउने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।










