
सोम दियाली /हरिवन
कार्तिक २१ गते । हरिवनको समग्र शैक्षिक सुधारको उदेश्यसहित यहाँका वडाअध्यक्षहरुले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि हरिवनको समग्र विकाससहित सुशासन अभिवृद्धि गर्न एकजुट भएका वडाअध्यक्षहरुको समूहले ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कस्ले गर्ने’ भन्ने नाराका साथ नगरका सबै(२४ओटै) सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेका हुन् ।
वडाअध्यक्षहरुको संयोजक हरिवन ३ का वडाअध्यक्ष दीपमान लोप्चनको अध्यक्षतामा हरिवन ८ स्थित महादेव जनता नमूना माविको सभाहलमा भएको अन्तरक्रियाका क्रममा प्रधानाध्यापकहरुले केही गुनासोहरुसहित नगरको समग्र शैक्षिक सुधारका लागि महत्वपूर्ण सुझाव दिएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जनले जानकारी दिए ।

अन्तरक्रियाका क्रममा सामुदायिक विद्यालयहरुमा विद्यार्थी टिकाइ राख्न चुनौती रहेको प्रधानाध्यापकहरुले बताएका थिए । उनीहरुले अभिभावकले गुणस्तरभन्दा पनि रिजल्ट राम्रो खोज्ने गरेकोले सामुदायिक विद्यालयहरुले त्यो नतिजा दिन नसक्दा विद्यार्थीहरुको संख्या घट्दो क्रममा रहेको बताए ।
कार्यक्रममा आफ्नो विद्यालयको प्रगति विवरण समेत प्रस्तुत गर्दै महादेव जनता माविका प्रधानाध्यापक गिरीराज रानाले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुको समेत गुणस्तर वृद्धि गर्नुपर्ने बताए । जसका लागि शिक्षकहरुलाई समेत विभिन्न प्रकारका शैक्षणिक तालिमहरुको आयोजना गर्नुपर्ने उनले धारणा राखे । आफूहरुले नियमित पठनपाठनसहित अत्तिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिई रहेको जानकारी दिँदै उनले नगरपालिकाबाट हुन नसकेको रनिङ्ग शिल्ड प्रतियोगिता छिटो गर्न सुझाव दिए ।
त्यस्तै हरिवन ९ स्थित चतुर्भुजेश्वर जनता माविका प्रधानाध्यापक टेक बहादुर राउतले नगरको शैक्षिक सुधारमा हरिवनका वडाअध्यक्षहरुले थालेको अभियान सराहनीय रहेको बताए । उनले आफ्नो विद्यालयले शैक्षिक उपलब्ध हासिल गर्नका लागि शैक्षिकणिक योजना बनाएरै अघि बढिरहेको जानकारी दिए ।

कार्यक्रममा रामअवतार जनता माविका प्रधानाध्यापक निराजन कार्की, जनजागृति माविका प्रधानाध्यापक चन्द्रमहोन झा, श्रीमती माइरानी मिक्चनी माविका प्रधानाध्यापक बासुदेव साह, प्रावि बालगंगाकी रमा सराफ, चालिक प्राविका बद्री मैनाली, चुरे जनता आधारभूत विद्यालयका डिल्लीरमण भट्टराई, सुकुम्वासी प्राविका विनोद दाहाल, जनजागृति प्राविकी गोमा थापा लगायतले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि आफूहरु तयार रहेको धारणा राखे । उनीहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार वडा, नगर र सिंगो हरिवनवासीकै सहयोग र सहकार्य आवश्य रहेको बताए ।
महादेव जनता नमूना माविको समन्वय तथा हरिवन नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महादेव जनता नमूना माविका पूर्व प्रधानाध्यापक जयशंकर सिंहले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि वडाअध्यक्ष र नगरपालिकाले अल्पकालीन र दीर्घकालीन दुबैखाले योजना बनाएर अघि बढ्न सक्ने बताए । उनले प्रधानाध्यापकहरुसँग वडाअध्यक्षहरुले समय दिनुपर्ने, विद्यालयको शैक्षिक सुधारका योजनाहरु मागेर सोही अनुसार काम भएनभएको अनुगमन गर्नुपर्ने लगायतका काम वडाअध्यक्षहरुले गर्न सक्ने सिंहले धारणा राखे ।
अन्तरक्रियाका क्रममा नगर शिक्षा शाखा रुस स्टालिन चौलागाईले शैक्षिक सुधारका योजना बनाएर अघि बढे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्भव रहेको बताए । उनले अभिभावकको चाहाना नै विद्यार्थीले ल्याउने नतिजा भएकोले उनीहरु खोजेको नतिजा दिन नसकेसम्म सामुदायिक विद्यालयको विश्वसनीयता बढ्न नसक्ने भन्दै चौलागाईले अभिभावकलाई विश्वासमा लिएर अघि बढ्न प्रधानाध्यापकहरुसँग आग्रह गरे ।
अन्तरक्रियाका क्रममा हरिवन नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरि दाहालले प्रधानाध्यापकहरुको कुरा सुन्न र नगरको शैक्षिक सुधारका योजना बनाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । उनले अन्तरक्रियाका क्रममा प्रधानाध्यापकहरुबाट आएका सुझावहरुलाई मनन् गर्दै नगरपालिकाले पनि प्रधानाध्यापकहरुलाई विद्यालय सुधारको लागि योजना दिने बताए ।

अन्तरक्रियाका क्रममा प्रधानाध्यापकहरुले राखेका विषयमा आफ्नो धारणा राख्दै हरिवन ४ का वडाअध्यक्ष केशवराज थापा(बाबु)ले जेनजी आन्दोलनको मर्म र भावना अनुरुप अब समग्र क्षेत्र सुध्रनुपर्ने र त्यसको सुरुवात हरिवनले नै गर्ने भन्दै आफूहरुले विद्यालयको शैक्षिक सुधारको अभियान थालेको बताए ।
उनले आफूले पाएको जिम्मेवारी सही ढंगले पूरा नगर्नु पनि भ्रष्टाचार नै भएकोले सबैले आ–आफ्नो जिम्मेवारी पुरा गरे हरिवन साँच्चै समृद्ध बन्ने र अब त्यो समृद्ध हरिवनका सपना अफूहरुले पूरा गर्ने बताए ।
त्यस्तै हरिवन नगरपालिकाका प्रवक्ता समेत रहेका हरिवन १० का वडाअध्यक्ष शम्भुप्रसाद मैनालीले सामुदायिक विद्यालयका शिक्षकहरुको तुलना निजी विद्यालयका शिक्षकहरुसँग गर्नै नमिल्ने बताए । उनले भने,‘तपाईहरु शिक्षक सेवा आयोग पास गरेर आउनु भएको छ । शिक्षण पेशामा दशकौंको अनुभव पनि छ । अनि तपाईले नै पढाएका विद्यार्थीले पढाएको निजी विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी चैं अब्बल हुने सामुदायिक विद्यालयको नहुने यस्तो किन भयो ?’ । उनले आफ्नो शैक्षिक सीप र कलाको भरपूर प्रयोग गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुलाई आग्रह गरे ।
‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले सुधारसहितको परिवर्तनको आवश्यकता औल्याएको छ । त्यसैले हामीले हाम्रा काम गराईमा सुधार गर्दै समृद्धि र सुशासन प्रवद्र्धनमा अघि बढेका हौं ।’, वडाअध्यक्ष लोप्चनले भने, ‘हरिवनमा शिक्षा स्वास्थ्यसहितका क्षेत्रमा सुधार गर्न हामीले थालनी गरिसकेका छौं । केही दिन अघि नगरका सबै विषयगत शाखाका कर्मचारीहरुसँग अन्तरक्रिया ग¥यौं । आज प्रधानाध्यापकहरुसँग ग¥यौं । अब स्वास्थ्यकर्मीहरुसँग र अन्य सरोकारवालाहरुसँग क्रमश अन्तरक्रिया गर्दै उहाँहरुको सुझावको आधारमा हरिवनलाई सुशासनको एउटा उत्कृष्ट नमूना बनाउने हामीले प्रण गरेका छौं ।’









