
मलंगवा, असोज २९ गते । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल), नेपाल जिल्ला समिति सर्लाहीले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै हालै देशमा फैलिएको भ्रमपूर्ण प्रचारप्रति कडा आपत्ति जनाउँदै दोषीहरूलाई कारबाहीको माग गरेको छ।
ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई बुझाइएको हो । जसमा हालैको जेनजी आन्दोलनपछिका घटनाहरूको सन्दर्भ उल्लेख गर्दै पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध तथ्यहीन, कपोकल्पित र नियोजित ढंगले सामाजिक सञ्जाल तथा मिडियामार्फत भ्रम फैलाएको आरोप लगाइएको छ ।

ज्ञापनमा भनिएको छ, “प्रचण्डका घर जलाइँदाको घटना सन्दर्भमा ‘दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लुकाइयो’ भन्ने जस्ता आरोपहरू सरासर झूठा, भ्रामक र राजनीतिक प्रतिशोधमा आधारित छन् ।” वाईसिएलले यस्ता अभिव्यक्तिहरूले पार्टी नेतृत्वमाथि चरित्रहत्या गर्न र जनतालाई उत्तेजित पार्न खोजिएको गम्भीर आपराधिक कार्य भएको भन्दै आपत्ति जनाएको छ ।
संयोजक पुष्पकमल दाहालको सचिवालयले २०८२ साल असोज २७ गते सम्बन्धित निकायमा साइबर अपराध अन्तर्गत उजुरी दर्ता गराइसकेको उल्लेख गर्दै ज्ञापनपत्रमा दोषीहरूलाई कानुनी अनुसन्धान र कारबाही गर्न माग गरिएको छ । यस्तो गम्भीर विषयमा कारबाहीको सट्टा वाइसिएलका केन्द्रीय अध्यक्ष र अन्य युवा–विद्यार्थीहरूलाई झूठा आरोपमा फसाउने र पक्रिने प्रयास भइरहेको भन्दै संगठनले गम्भीर आपत्ति जनाएको छ ।

तीनवटा मागहरू राख्दै ज्ञापनपत्रमा झूठा र तथ्यहीन प्रचार गर्ने व्यक्तिहरूमाथि निष्पक्ष छानबिनसहित तुरुन्त कानुनी कारबाही गर्न भनिएको छ । त्यस्तै पार्टी संगठन र नेतृत्वमाथि राजनीतिक प्रतिशोधका आधारमा धम्की, त्रास र उत्पीडनको कार्य नगर्न, यस्ता अन्यायपूर्ण गतिविधिहरू रोकिएनन् भने संयुक्त आन्दोलन र प्रतिरोध कार्यक्रमहरूमा उत्रिन वाध्य हुने ज्ञापनपत्र मार्फच चेतावनी दिइएको छ । वाईसिएल सर्लाहीका इन्चार्ज हेमबहादुर थापा (नविन) द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने कुनै पनि प्रयास सफल नहुने स्पष्ट पारिएको छ।










