मलंगवा, असोज —२७गते । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ स्थित प्रहरी चेकपोष्टबाट स्रोत नखुलेको पाँच लाख पैतालिस हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतवार दिउँसो करिब एक बजे भारतको सोनवर्षाबाट नेपालतर्फ आउँदै गरेको (बी.आर. ०६ बी.टी. ३४३६) मोटरसाइकल मा सवार दुई जनालाई शंका लागि जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको नगद रकम फेला परेको हो ।
तीमध्ये एक जनाको साथमा रहेको निलो झोलाबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५, मोहनपुर का २५ वर्षीय आलम मन्सुर र सोही मोटरसाइकलको पछाडि सवार ४० वर्षीय विकाउ मन्सुर रहेका छन् । उनीहरूको साथबाट बरामद भएको नगद रकममा हजार दरका चार सय पच्चीसवटा, पाँच सय दरका दुई सयवटा, र एक सय दरका दुई सयवटा नोट गरि पाँच लाख पैतालिस हजार रुपैयाँ रहेको छ ।
![]()
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार रकमको स्पष्ट स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो । उनका अनुसार असोज महिनाको यस अवधिमा मात्रै जिल्ला प्रहरीकार्यालय जिल्लाका बिभिन्न नाकाबाट करिब पाँच लाख सत्ताईस हजार रुपैयाँ बराबरको भन्सार छली गरिएका अवैध सामान पनि नियन्त्रणमा लिई मलंगवा भन्सार कार्यालयमा बुझाइएको छ ।










