लालबन्दी, असोज—२५ गते । लालबन्दी नगरपालिका–७ मा रहेको “महिला उद्यमशीलता तथा समविकास संस्था”को दोस्रो वार्षिक साधारणसभा शनिवार जानकी मावि लालबन्दीमा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मुना उपाध्यायको अध्यक्षता तथा वडा नम्बर —७ का वडा अध्यक्ष कृष्ण गोपाल कार्कीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाकी सचिव अन्जु ढकालले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले संस्थाले समुदायमा महिला सशक्तीकरणका लागि सञ्चालन गरेका कार्यक्रमहरू, उपलब्धि, समस्या र आगामी योजनाहरू विस्तृत विवरण प्रस्तुत गरेकी थिइन् ।


साधारणसभामा मन्तव्य राख्दै लैङ्गिक विकास तथा समाज कल्याण शाखा लालबन्दीकी प्रमुख डाककुमारी फुयालले आफ्नो शाखाबाट सम्भव भए सम्म सहयोग गर्ने बताइन् ।
कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषद्, लालबन्दीका अध्यक्ष अच्युत अधिकारीले हस्तकलामा आधारित तालिमहरू सञ्चालन गर्न संस्थालाई आग्रह गरे। उनले भने, “महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिम मात्र होइन, उनीहरूको उत्पादन बिक्रीका लागि (कोशेली घर) निर्माण गरिनुपर्छ।” उनले स्थानीय तहसँग समन्वय गरेर यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरे ।
त्यस्तै प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलियाले संस्थाले समुदायका महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्दै आएको प्रशंसा गर्दै भने, “सामाजिक परिवर्तनको लागि महिलाहरुद्वा स्थापना गरिएको संस्थालाई स्थानीय तहले सहयोग गर्नु पर्छ,संस्थाले महिलाको क्षमता विकासमा खेलेको भूमिका उदाहरणीय रहेको बताए ।”उनले आगामी दिनमा पत्रकारिता क्षेत्रबाट संस्थाको सकारात्मक प्रयासमा सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्तगरे ।


कार्यक्रममा मन्तव्य राख्दै संस्थाकी अध्यक्ष मुना उपाध्याय ले संस्थाले हालसम्म हासिल गरेका उपलब्धिहरू र आगामी योजनाहरूबारे जानकारी दिइन् । उनले भनिन्, “संस्था बनाउनु भन्दा पनि बचाउनु चुनौतीको विषय हो। अहिले हामीले ‘कल्याणकारी कोष २०८२’ स्थापना गरी आपतकालीन सहयोगका कार्यक्रम सुरु गरेका छौं।”उनले भविष्यमा डिजिटल साक्षरता, इ–कमर्स तालिम, स्थायी बजारको खोजी र युवाहरुलाई उद्यममा जोड्ने योजना रहेको बताउँदै सबै सरोकारवाला निकायसँग सहकार्यको अपेक्षा व्यक्त गरिन्।’ कार्यक्रममा संस्थाका उपाध्यक्ष सविता चौधरी,जमुना आचार्य, लगायत पदाधिकारी, समाजसेवी, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन यसोदा खतिवडाले गरेकी थिइन् ।