ब्रह्मपुरी,असोज —१० गते । सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा शुक्रवार राति भएको एक सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
राति करिब ८ बजे पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एम.एच. ०४ डी.जे. १२९७ नम्बरको भारतीय स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।


ठक्करबाट मोटरसाइकलमा सवार तीन जना मध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृतकमा ब्रह्मपुरी गाउँपालिका–२ का २३ वर्षीय अंकित चौधरी र औरहीका २५ वर्षीय रोहित सहनी रहेका छन्।
मोटरसाइकल चालक अंकित चौधरीको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेपछि राति १० बजे उनलाई थप उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल रिफर गरिएको थियो। तर, उपचारको क्रममा राम जानकी अस्पताल जनकपुरमै राति पौने १२ बजे मृत्यु भएको हो।


त्यस्तै, मोटरसाइकलको बीचमा सवार रोहित सहनीको टाउको र घाँटीमा गम्भीर चोट लागेपछि राति करिब १०ः३० बजे उपचारको क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको शव हाल मलंगवा स्थित शवगृहमा राखिएको छ ।
दुर्घटनामा परेका अर्का घाइते २३ वर्षीय शिव शंकर पण्डितको बायाँ हात र दुबै खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि राति ११ः२५ बजे बारास्थित आइ.एस. न्युरो अस्पताल रिफर गरिएको छ । उनको अवस्था मध्यम गम्भीर रहेको बताइएको छ ।


घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पर्सा सर्लाहीबाट प्रहरी निरीक्षक शम्भु यादवको नेतृत्वमा टोली, प्रहरी चौकी त्रिभुवननगरबाट प्रहरी सहायक निरीक्षक दीपेन्द्र बहादुर मल्लको नेतृत्वमा अर्को टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीको कमाण्डमा टोली खटिएको थियो।
घटनास्थलबाट स्कारपियो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइ दुबै सवारी साधन हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको जनाइएको छ । स्कारपियो चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको सर्लाही प्रहरीका सूचना अधिकारी सरोज राईले जानकारी दिएका छन्।