प्रतिकात्मक तस्बिर ।

ईश्वरपुर, असोज— ८ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, भगवानपुरमा बुधबार दिउँसो लघुवित्त संस्था मार्फत संकलित रकम लुटिएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी रिङ्कुकुमारी महतोबाट अज्ञात व्यक्तिहरुले झन्डै दुई लाख पचास हजार रुपैयाँ लुटेका हुन् ।
इलाका प्रहरी कार्यालय, केशरगन्जका अनुसार महतोले स्थानीय बचत समूहबाट संकलन गरी ल्याउँदै गरेको २ लाख ४९ हजार ७४० रुपौयाँ लुटिएको बताएकी छन् । बयलवास बजारस्थित कार्यालय आउने क्रममा भगवानपुर टोल नजिकै स्कुटरमा यात्रा गरिरहेकी बेला उनी लुटिएकी हुन् ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले बाटो छेकेर उक्त रकम लुटेका पीडितले बताएकी छिन् । लुटपाटमा संलग्न व्यक्तिहरुले प्रयोग गरेको सवारी साधनको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, केशरगन्जले घटना सम्बन्धमा पीडित र उनका पति, साथै बचत समूहका सदस्यहरूसँग घटनाको सम्बन्धमा सोधपुछ गरिरहेको छ ।


“लुटपाटमा पर्नुभएको महिला, उहाँका श्रीमान् र जहाँबाट पैसा लुटिएको हो, ती सदस्यहरूसँग सोधपुछ भइरहेको छ,“ सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राइले चियोचर्चो दैनिकलाई जानकारी दिए। डिएसपी राइले भने, “पीडितको बयानका आधारमा फरार व्यक्तिहरुको खोजी तीव्र पारिएको छ।” प्रहरीले छिट्टै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने डिएपी राइले बताए ।