लालबन्दी, असोज— ८ गते । सर्लाहीमा मुख्य चाड बडादशैंको बीचमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले छड्के बजार अनुगमन गरी करिब दुई लाख रुपैयाँ बराबरको जरिवाना गरेको छ ।
प्रशासनको नेतृत्वमा सम्बन्धित निकायका विज्ञहरू सम्मिलित टोलीले मंगलवार र बुधवार विभिन्न स्थानका बजारहरूमा अनुगमन गरेको हो । अनुगमनको क्रममा जथाभावी मूल्य असुल्ने, म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्री गर्ने, स्वास्थ्यमा प्रतिकूल असर पार्ने बासी र सडेगलेका खाद्य सामग्री बिक्री गर्ने दुई दर्जनभन्दा बढी व्यापारीहरूलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले जानकारी दिए । ती व्यापारीलाई सात दिनभित्र जरिवाना बुझाउन पत्र दिइएको उनले बताए ।

मंगलवार मलंगवा, हरिपुर र नवलपुर बजार तथा बुधवार लालबन्दी बजारमा गरिएको अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सामग्रीहरू फेला परेको पोखरेलले बताए । “हामीले हाम्रो अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, स्वास्थ्य कार्यालय लगायतका विज्ञहरूसहितको टोलीबाट बजार अनुगमन गरेका हौं,” पोखरेलले भने, “गलत कार्यमा संलग्न व्यापारीलाई ५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।” उनले अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका र अखाद्य वस्तुहरू तत्कालै नष्ट गरिएको पनि जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालयका अनुसार चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । दशैं, तिहार, छठ लगायतका चाडपर्वहरूमा बजारमा देखिन सक्ने विकृति नियन्त्रण गर्न अनुगमनलाई प्राथमिकता दिइने पोखरेलले बताए । उनका अनुसार बजार अनुगमन खाद्यान्न, थोक तथा खुद्रा पसल, होटल लगायत स्थानहरूमा केन्द्रित गरिएको छ । व्यापारीले सूचना पाउने बित्तिकै पसल वा गोदाम बन्द गरी भाग्ने गरेका कारण अनुगमनलाई (आकस्मिक) छड्के रूपमा गरिँदै आएको जनाइएको छ ।
सर्लाहीका सबै शहरी तथा ग्रामीण क्षेत्रका बजारहरूमा अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनका अनुसार बजारमा आपूर्ति सन्तुलन कायम राख्दै मूल्य नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले अनुगमनलाई प्रभावकारी बनाइने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बजार अनुगमनको उद्देश्य व्यापारीलाई आतंकित पार्नु नभई बढी मूल्य असुल्ने, मूल्यसूची नराख्ने तथा गुणस्तरीय वस्तु बिक्रीवितरण नगरी उपभोक्तालाई ठग्ने व्यापारीलाई मात्रै कारबाहीको दायरामा ल्याउनु हो । यता उद्योग वाणिज्य संग लालबन्दीका अध्यक्ष महेश कुमार महतोले आफुहरु र नगरपालीकालाईसमेत जानकारी नदिइ आकस्मिक रुपमा बजार अनुगमन गरिएकोमा उद्योग वाणिज्य संघ लालबन्दी र आफ्नो आपत्ति रहेको बताएका छन् । आकस्मिक रुपमा हुने यस्ता अनुगमने व्यापारी आतंकित हुने उनको भनाई छ ।