
मलंगवा, असोज- ६ गते ।
देशभर फैलिएको जेनजी युवा पुस्ताको प्रदर्शनपछि उत्पन्न असहज परिस्थितिका कारण सर्लाही जिल्लामा भएको तोडफोड र आगजनीका घटनाबाट सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले साेमवार क्षतिकाे प्रारम्भिक विवरण सार्वजनिक गर्दै , जिल्लामा कुल ६३ करोड ५५ लाख रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति नष्ट भएको जनाएको छ।

गत भदौ २३ र २४ गते विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयहरूमा आक्रमण, तोडफोड र आगजनी भएका थिए। प्रशासनका अनुसार सबैभन्दा बढी क्षति जिल्लाका २० वटा स्थानीय तहमा देखिएको छ। तीमध्ये केहीमा पूर्ण क्षति पुगेको छ भने केहीमा आंशिक र सामान्य क्षति मात्र भएको बताइएको छ। प्रारम्भिक विवरण अनुसार स्थानीय तहमा मात्र ६१ करोड ३३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। तीमध्ये ४७ करोड २० लाख बराबरको संरचना पूर्ण रूपमा नष्ट भएको छ भने १३ करोड ७९ लाख बराबरको सम्पत्ति आंशिक रूपमा क्षतिग्रस्त भएको हो। यस्तै ३४ लाख बराबरको सामान्य क्षति भएको भएका छन्।

प्रादेशिक कार्यालयहरूमा पनि आन्दोलनको प्रभाव परेको देखिन्छ। जिल्लामा रहेका २३ वटा प्रादेशिक कार्यालयमध्ये केहीमा सामान्य क्षति पुगेको छ, जसको प्रारम्भिक मूल्यांकन १५ लाख रुपैयाँ बराबर रहेको उल्लेख छ। यस्तै, संघीय कार्यालयहरूमा समेत क्षति पुगेको देखिन्छ। संघीय निकायअन्तर्गत ५१ लाख बराबरको आंशिक क्षति तथा १ करोड ५६ लाख बराबरको सामान्य क्षति भएको विवरणमा उल्लेख छ। यद्यपि, ३० वटा संघीय कार्यालयहरूमा भने कुनै क्षति नभई बचेका प्रशासनले जनाएको छ ।
जिल्लाभित्र रहेका ७८ वटा सार्वजनिक कार्यालयमध्ये ६ वटामा पूर्ण क्षति, ४ वटामा आंशिक क्षति र ७ वटामा सामान्य क्षति पुगेको छ। बाँकी ६१ वटा कार्यालय भने क्षति मुक्त रहेका छन्। प्राप्त विवरण अनुसार सार्वजनिक सम्पत्तिमा मात्र ६३ करोड ५५ लाख रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ ।
घटनापछि सर्लाही जिल्लाका अधिकांश सरकारी सेवा प्रवाह यथावत् सञ्चालनमा रहेका छन्। हाल जिल्लाका ७८ कार्यालयमध्ये ७२ वटा कार्यालय पूर्णरूपमा सेवा सञ्चालनमा रहेका छन् भने बाँकी ६ वटा कार्यालयले आंशिक रूपमा मात्र सेवा दिन सकेका छन्।
व्यक्तिगत तथा निजी सम्पत्तिमा भएको भौतिक र आर्थिक क्षतिको विस्तृत विवरण भने संकलनको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विवरण प्राप्त भएपछि सार्वजनिक गरिने छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलका अनुसार आन्दोलनपछिका अप्रिय घटनाबाट सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ। “प्रारम्भिक विवरणका आधारमा मात्रै करोडौंको क्षति देखिएको छ, विस्तृत विवरण आउन बाँकी छ,`उनले भने । अवस्था सामान्य बनाउन प्रशासनले आवश्यक कदम चालिरहेका जनाएको ।”









