
सर्लाही, भदौ —२३ गते प्रत्येक वर्षको आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध ९पितृ पक्ष० आजदेखि विधिपूर्वक सुरु भएको छ। वैदिक सनातन संस्कारअनुसार, पितृ पक्षमा आफ्ना दिवङ्गत पितृहरूलाई श्रद्धापूर्वक तर्पण, पिण्डदान र श्राद्ध कर्म गर्ने परम्परा छ। दसैँको पूर्वसन्ध्यामा पर्ने यस १६ दिने अवधिले पारिवारिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ।

सनातन धर्ममा पितृकर्मलाई कृतज्ञता, उत्तरदायित्व र आत्मिक शुद्धिको प्रतीक मानिन्छ। सात पुस्तासम्मका पितृहरूलाई सम्झिने परम्पराले वर्तमान पुस्ताले अघिल्ला पुस्ताप्रति देखाउने समर्पण भाव प्रकट गर्छ। सोह्र श्राद्धलाई विभिन्न स्थानमा कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि नामले पनि चिनिन्छ। यो पक्ष पूर्णिमादेखि औँसीसम्म रहने गर्दछ।

यता मिथिलामा भने पितृ पक्ष भाद्र पूर्णिमाकै दिनदेखि सुरु भएको मानिन्छ। भाद्र शुक्ल चतुर्दशीमा (नौकेशु (नङ) र कपाल काटे० पश्चात् पूर्णिमाको दिन (देव–ऋषिलाई आमन्त्रित गरी तर्पण) गर्ने चलन छ। यही विधिबाट पितृ पक्ष आरम्भ हुन्छ भन्ने मान्यता मैथिल समाजमा प्रचलित छ।

पितृ पक्षमा दुई प्रकारका श्राद्ध गरिन्छन्स्
पार्वण श्राद्ध ः जसमा वार्षिकी सम्पन्न भएका पितृहरू, मावली, आफन्त र गुरुजनहरूलाई पिण्ड अर्पण गरिन्छ।
एकपार्वण श्राद्ध ः पितृ पक्षमै दिवङ्गत भएकाहरूको सोही तिथिमा गरिने श्राद्ध, जसमा एकोदिष्ट र पार्वण विधि मिश्रित हुन्छ।
मिथिला क्षेत्रमा श्राद्ध–तर्पण प्रायःतीर्थस्थलहरू वा पवित्र जलाशयहरूमा गरिन्छ। टाढा जान नसक्नेहरूले गाउँ–बस्ती नजिकैका नदी, तलाउ वा पोखरी किनारमा तर्पण गर्दछन्।

यस अवसरमा आइतवार सर्लाहीका बगमती, लखनदेही, झिम, कालिन्जोर र फुलजोर नदी किनारमा तर्पण गर्न श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
पौराणिक मान्यताअनुसार पितृ पक्षमा दिवङ्गत पितृहरू स्वर्गबाट पृथ्वीलोकमा आउँछन् र सन्तानले अर्पण गरेका तर्पण–पिण्डहरू सोझै ग्रहण गर्ने विश्वास रहेको छ। यही विश्वासका आधारमा प्रत्येक वर्ष पितृ तर्पणलाई विशेष महत्व दिइन्छ।









