
कृष्ण थपलिया/सर्लाही भदौ –८, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा अनुसार सर्लाहीकाे लालबन्दी नगरपालिका जिल्लामै सबैभन्दा उत्कृष्ट स्थानीय तहको रूपमा अंक प्राप्त गर्न सफल भएको छ।
आर्थिक वर्ष २०८०/८१ का लागि गरिएको स्वमूल्याङ्कनमा लालबन्दी नगरपालिकाले ७८.५० अंक प्राप्त गर्दै २० वटा स्थानीय तहहरू मध्य पहिलो स्थान हासिल गर्न सफल भएको हो। यो मुल्याङ्कन स्थानीय तहको नीति निर्माण, सेवा प्रवाह, प्रशासनिक क्षमता, वित्तीय पारदर्शिता, दिगो विकास लक्ष्यप्रति प्रतिबद्धता लगायतका १० वटा सूचकमा आधारित रही गर्ने गरिन्छ ।

लालबन्दी नगरपालिका पछि बरहथवा नगरपालिका ७४ अंकका साथ दोस्रो स्थानमा रहँदा विष्णु गाउँपालिका ६३ अंक प्राप्त गर्दै तेस्रो स्थानमा आएको छ। यसैगरी ब्रह्मपुरी गाउँपालिका ६१.२५, ईश्वरपुर नगरपालिका ६०.५०, र हरिवन नगरपालिका ५७.७५, उत्कृष्ट पाँच स्थानीय तहमा परेका छन्।
गोडैता नगरपालिका भने सबैभन्दा कमजोर अंक ३५.७५ अंक प्राप्त गरि अन्तिम स्थानमा परेको छ। धनकौल गाउँपालिका ३८.५० र बसबरिया गाउँपालिका ४० क्रमशः १९ औं र १८ औं स्थानमा रहेका छन्।

संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहहरूले संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, र सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुन अनुसारको कार्य सम्पादन, नीति निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन, अभिलेखीकरण तथा सुशासन सम्बन्धी १० सूचकहरूमा १०० प्रश्नहरूको आधारमा मूल्याङ्कन गरिन्छ।

लालबन्दी नगरपालिकाले नीति निर्माणदेखि कर्मचारीको कार्यसम्पादन र अभिलेखीकरणमा उच्च स्तरको दक्षता प्रदर्शन गरेको पाइन्छ। यही कारण, इन्डिकेटरअनुसार नीति, कार्यक्रम तथा निर्णयहरूलाई कार्यान्वयनमा ल्याउने जनप्रतिनिधि र कर्मचारीको समन्वय र प्रयास सफल भएको बताइएको छ।
संस्थागत स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी प्रत्येक पालिकाले आफ्नो वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत कार्यविधिमा उल्लेख छ।










