काठमाडौं ,भदाै -७,आज भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसी। देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ।

पुरोहितले मन्त्रोच्चारणपूर्वक काटको कुश यजमानका घरमा लग्ने परम्परा छ। यसरी काटिएका कुशलाई पवित्र स्थानमा राख्ने वा ढोकामाथि सिउरिने गरिन्छ। यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ।

यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ। शास्त्रमा जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने बताइएको छ। सबैकहाँ नहुने कारणले कुशेऔँसीका दिन पुरोहितले कुश काटेर यजमानका घरमा लग्ने र वर्षभरि प्रयोग गर्ने चलन चलेको हो।   आज छोराछोरीले खानेकुरा र लुगाफाटोसहित आफ्ना बुबाको मुख हेर्ने गर्छन्।

काठमाडौं उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने चलन कालान्तरमा सबैले अपनाएको संस्कृतिविद् बताउँछन्।

आजकै दिन नेपाली साहित्य नक्षत्रका युवा कवि मोतीराम भट्टको जन्म जयन्ती पनि हो ।नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए ।

३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए।