बागमती,भदौ- ६ गते सर्लाहीको पर्यटकीय नगरी बागमतीस्थित भरत तालमा भएको रक्तदान कार्यक्रममा ८४ जनाले रगतदान गरेका छन् ।
नेकपा माओवादी केन्द्रको युवा भातृ संगठन वाइसिएल नेपालले श्रम तथा उत्पादनमा वाईसिएल भन्ने नाराका साथ सुरु गरेको दुई महिने अभियान अन्तरगत यहाँ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।


वाईसिएल नेपाल सर्लाहीका जिल्ला अध्यक्ष घामराज श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय स्थायी कमिटि सदस्य प्रह्लाद बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेता सुवास मैनालीले सर्वप्रथम रक्तदान गरेका थिए ।
पर्यटकीय स्थल भरत तालको प्रचार प्रसारको उदेश्यले आयोजित रक्तदान कार्यक्रममा वाईसिएलका जिल्ला अध्यक्ष घामराज श्रेष्ठसहित केन्द्रीय सदस्य ऋषिराज धिताल र अन्य नेता तथा कार्यकर्ताहरुले समेत रक्तदान गरेका थिए ।


रक्तदान कार्यक्रममा माओवादी केन्द्रका सर्लाही इन्चार्ज अच्यूतम काफ्ले, केन्द्रीय सदस्य प्रमोद साह तथा वाईसिएल नेपालका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
वाईसिएल नेपालले सुरु गरेको दुई महिने अभियान अन्तरगत सर्लाहीमा यो तेश्रो कार्यक्रम हो । यसअघि केही दिन पहिला लालबन्दी नगरपालिका १५ स्थित पर्यटकीय स्थल बोहोरे डाँडामा वृक्षारोपण तथा गुम्वा सरसफाई गरी जिल्लामा अभियान सुरु गरेको वाईसिएल नेपालले दुई दिन अघि मात्रै पनि जिल्लाको चन्द्रनगर ५ मोहनपुरमा सहिद रामवृक्ष यादवको स्मृतिमा वृक्षारोपण कार्यक्रम गरेको थियो ।


वाईसिएल नेपाललाई श्रम र उत्पादनसँग जोड्न केन्द्रले सञ्चालन गरेको अभियान अन्तरगत सर्लाहीमा पनि विभिन्न कार्यक्रम भइरहेको वाईसिएल नेपालका केन्द्रीय सदस्य युवा नेता ऋषिराम धितालले जानकारी दिए ।