कृष्ण थपलिया /सर्लाही,
भदौ -६, हालै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालयहरूको छाता संगठन प्याब्सन (PABSON) र एन प्याब्सन (NPABSON) ले देशव्यापी आन्दोलनलाई क्रमबद्ध रूपमा तीव्र बनाउँदै लगेका छन्।


आन्दोलनका कार्यक्रम अन्तर्गत  शुक्रवार विद्यालयहरूको छाता संगठनमा आबद्ध विद्यालयहरूले पूर्वपश्चिम राजमार्गमा विद्यार्थी नभएका खाली बसहरूको सांकेतिक र शान्तिपूर्ण र्‍याली निकाली विधेयकको विरोध जनाएका हुन।


कार्यक्रममा प्याब्सन र एन प्याब्सन सर्लाहीका पदाधिकारीहरूकाे उल्लेखनीय सहभागिता रहेको एन प्याब्सन सर्लाहीका सचिव जगदीश कडेलले चियाेचर्चाे खबरलाई जानकारी दिए । बसहरूको र्‍याली लालबन्दीबाट सुरूभइ फुलजाेर चाेकमा पुगी फर्किएर नवलपुर पुगि टुंगिएको थियो ।

सदरमुकाम मलंगवामा पनि निजी विद्यालयहरूले खाली बसकाे शान्तिपूर्ण र्‍याली निकालेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मलंगवाको आयोजनामा भएको र्‍यालीमा नगरका विभिन्न निजी विद्यालयका सञ्चालक, शिक्षक–शिक्षिका र विद्यालय बसहरूको सहभागिता थियो। र्‍याली वडा नं. ८ स्थित पद्मरत्न स्कुलबाट सुरु भई नगरका विभिन्न भागको परिक्रमा गरेर पुनः त्यहीँ पुगेर सम्पन्न भएको थियो । जिल्लाका अन्य पालिकाहरूमा रहेका विद्यालयहरूले पनि यस्तै खालको कार्यक्रम गरेका थिए ।

साउन २७ गते काठमाडौंस्थित प्याब्सन केन्द्रीय कार्यालयमा प्याब्सन, एन प्याब्सन र अन्य सरोकारवाला संस्थाहरूको संयुक्त बैठक सम्पन्न भएको  थियो।

बैठकले प्रस्तावित शिक्षा विधेयकमा निजी विद्यालयका हकअधिकारविपरीतका कतिपय प्रावधान रहेको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो।
संयुक्त आन्दोलन कार्यक्रम अनुसार देशभर विभिन्न तहमा ज्ञापनपत्र बुझाउने, छलफल गर्ने, अन्तरक्रिया गरि  सुझाव संकलन गर्ने कार्यक्रमहरू तय गरिएको थियो । बैठकले  याे  अवधिमा समस्या समाधान  नगरिए विद्यालय बन्द गरि आन्दोलन चर्काउने चेतावनी दिइएको थियो ।
बैठकले  श्रावण २९ गते स्थानीय पालिकामा ज्ञापन पत्र बुझाउने।श्रावण ३० गते  जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई तथा जिल्ला समन्वय समितिमा ज्ञापन पत्र बुझाउने ।
भदौ १ गते प्रदेश सरकार (मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रालय) समक्ष ज्ञापनपत्र बुझाउने । भदौ २ गते सङ्घीय सांसदहरूलाई ज्ञापनपत्र बुझाउने। भदौ २ गते साँझ राष्ट्रिय परिषद्को जुम बैठक मार्फत सुझाव संकलन गर्ने । भदौ ३ देखि ५ गतेसम्म पालिका, जिल्ला र प्रदेशस्तरीय आन्दोलन तयारी बैठकहरू सञ्चालन गर्ने र भदौ ६ – ७ गते सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यतालिका तयार गरेको थियो ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एन प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेले संयुक्त रूपमा जारी गरेको सर्कुलरमा आन्दोलन भद्र, शान्तिपूर्ण र चरणबद्ध हुने उल्लेख छ।


एन प्याब्सन र प्याब्सन साउन २८ गतेदेखि नै आन्दोलित छन् भने आगामी दिनहरूमा आन्दोलन थप सशक्त र प्रभावकारी  बनाइने एन प्याब्सन सर्लाहीका सचिव कडेलले  जानकारी दिए ।
उनका अनुसार निर्धारित दबाब कार्यक्रमबाट  समाधान नभए विद्यालय बन्द गर्नेसम्मको तयारी भइरहेको छ।शिक्षा नीतिमा दीर्घकालीन असर पार्न सक्ने प्रावधानहरू फिर्ता लिइनुपर्ने आन्दोलनरत पक्षको माग छ।