काठमाडौँ,साउन-२३,कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरवारभित्र निर्माणाधिन संघीय संसद भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरि काम भइरहेको बताएका छन् । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा शुक्रवार भएको छलफलका क्रममा उनले समयमा काम नसक्ने कन्ट्राक्टरप्रति मन्त्रालय निर्मम हुने पनि बताए ।
समितिमा समिति सदस्यहरुले उठाएका जिज्ञासामा जवाफ दिदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा बेपर्वाह नगर्न सरोकारवालाहरलाई पटक पटक ध्यानाकर्षण गराइसकेको जानकारी दिए । थप भएको अवधिभित्रै काम सक्ने विश्वसनीय कार्ययोजनाअनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय र विभागबाट अनुगमन भइरहेको उनले बताए ।
‘नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार छौं । तोकिएको समयमा काम नगर्नेहरुलाई मनत्रालयले कडाइ गरिरहेको छ । कीर्तिपुर क्रिकेट स्टेडिममा जरिवाना लगाएर। काम भइरहेको छ । संसद भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ । सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमिजोरी अव दोहोरिन नदिने गरी काम गरिररहेको छ ,’ उनले भने । काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको पनि सिंहले बताए।
मन्त्रालयका सचिव गोपाल सिग्देलले पुस दोस्रो साता काम सम्पन्न गरिसक्ने गरि कार्यतालिका बनाएर कन्ट्राक्टरले काम गरिररहेको भनदै समितिमा तालिका प्रस्तुत गरेका थिए । आउने अधिवेशन नयाँ संसद भवनबाटै सञ्चालन गर्ने गरि काम अघि बढेको भन्दै तालिकाअनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । समिति सदस्यहरुले आउने अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने गरि काम सक्नुपर्नेमा जोड दिएका थिए।
तस्बिर साैजन्य : जगन्नाथ दुलाल, प्रेस संयाेजक, उपप्रधानमन्त्री सिंह ।