सर्लाही, साउन- २३, जिल्लाको बलरा नगरपालिका–११ मा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। बिहान करिब १०:३० बजेकाे समयमा बलरा नगरपालिका वडा नम्बर ११ कार्यालय नजिकै BR 30 K 4694 नम्बरको मोटरसाइकलले पैदल यात्री चन्दा देवी बैठालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
स्थानीय अचलगढ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ लैजाने क्रममा मध्याह्न १२ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। ५५ वर्षीया चन्दा देवी बलरा–११ निवासी सहिब बैठाकी श्रीमती हुन ।
मोटरसाइकल चालक ३५ वर्षीय जितेन्द्र ठाकुर पनि दुर्घटनामा घाइते भएका छन्। उनलाई पनि प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिरगंज पठाइएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।