![]()
प्रेमचन्द्र झा / रौतहट
साउन ७, चन्द्रपुर नगरपालिका–२, जुडिवेलामा जंगली हात्तीको बढ्दो आतंकले चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित जुडिवेला क्षेत्रमा स्थानीयवासी त्रसित बनेका छन्।
गए राति जंगली हात्तीले स्थानीय निरास कुमर र मेघनाथ कछडियाको घरमा आक्रमण गरी ठूलो क्षति पुर्याएको छ। यो घट्नाले स्थानीय रातभर सुत्न सकेका छैनन् ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख ईन्सपेक्टर रुपेश झाले घटनाको पुष्टि गर्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेको जनाए पनि सुरक्षा र राहतका विषयमा ठोस पहल भने भएको छैन।

जुडिवेला माविका प्रधानाध्यापक जुगल किशोर सिंहका अनुसार, पछिल्लो समय जंगली हात्तीले घर भत्काउने, फलफूल नष्ट गर्ने, बाली कुल्चने, नाली भत्काउनेजस्ता घट्नाहरू बारम्बार दोहोरिएकाे छन्। तर, सम्बन्धित निकाय मुकदर्शक भएको आरोप स्थानीयले लगाएका छन्।

स्थानीयको धैर्यको सीमा टुट्न थालेको छ। पटक–पटक ज्यानको जोखिम मोलेर बाँच्न बाध्य स्थानीयवासी अब आन्दोलनमा उत्रिने चेतावनी दिइरहेका छन्। “दिनदिनै ज्यानको जोखिममा बाँच्नुपर्ने? सरकारको जिम्मेवारी कहाँ गयो?” एक स्थानीय बासिन्दाको आक्रोश थियो।
स्थानीय समाजसेवी प्यारो कार्कीले जंगली जनावरको नियन्त्रण, पीडितलाई राहत, तथा दीर्घकालीन सुरक्षा रणनीति निर्माण गरी जनतालाई राहत दिन सरकारसँग माग गरेका छन्।

यदि समयमै सरकार गम्भीर नभए, चन्द्रपुरमा जंगली हात्तीको आतंक मात्र होइन, जनआन्दोलनको हुंकार पनि सुनिने प्रबल सम्भावना देखिएको छ।









