![]()
सर्लाही,साउन- ७, जिल्लामा पछिल्लो समय तीव्र रूपमा देखिएको खानेपानी र सिँचाइको अभाव समाधान गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा विभिन्न सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकले ११ बुँदे निर्णयहरू गरेको छ ।

यस्ता छन् बैठकाे निर्णय :
१. खानेपानी आपूर्तिमा तत्काल पहल: खानेपानीको अभाव भएका क्षेत्रमा नयाँ धारा जडान, ट्यांकरमार्फत वितरण, समरसिबल पम्प तथा भूमिगत स्रोत प्रयोग गरी आपूर्ति व्यवस्था गर्न सम्बन्धित स्थानीय तह, वडा कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन, नेपाल खानेपानी संस्थान, विद्युत प्राधिकरण र सडक कार्यालयबीच समन्वय गर्ने।
२. संघ र प्रदेश सरकारसँग समन्वय: स्थानीय निकायको क्षमताले नभ्याए संघीय तथा मधेश प्रदेश सरकारसँग आवश्यक बजेट व्यवस्थाको लागि अनुरोध गर्ने।
३. डोनर एजेन्सीको सहकार्य: सरकारी तथा गैरसरकारी संस्थाहरुले डोनर एजेन्सीसँग समन्वय गरी खानेपानी आपूर्तिमा सहकार्य गर्ने।

विपद् पूर्वतयारी योजना: विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (आ.व. २०८२/८३) र QRT/IRT परिचालन योजनाका लागि सात दिनभित्र सम्बन्धित विवरण जिल्ला समितिमा पठाउने।
५. एकीकृत ढंगले कार्यान्वयन: खानेपानी र सिँचाइसम्बन्धी कार्यलाई थप समन्वयात्मक रूपमा संचालन गर्दै स्रोतसाधनको अधिकतम प्रयोग गर्ने।
६. सिँचाइ आयोजनाको प्रभावकारी प्रयोग: बागमती र मनुष्मारा झाँझ सिँचाइ आयोजनाको क्षमता अधिकतम उपयोग गर्दै तल्लो बेल्टमा विशेष प्राथमिकता दिने।
७. नदीजन्य बाढीको पूर्वतयारी: बागमती, लखनदेही, झिम, बाँके, एकादशी नदीमा बाढीबाट हुन सक्ने क्षतिको आँकलन गरी खोज, उद्धार तथा पुनःस्थापनाको व्यवस्था गर्ने।
८. सम्पूर्ण सरोकारवालाको सहकार्य: सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज र राजनीतिक दलहरूको समन्वयमा समस्या समाधानमा लाग्ने।
९. धान रोपाइमा पछाडि रहेका पालिकाहरूमा विशेष ध्यान: पर्सा, ब्रह्मपुरी, हरिपुर, कौडेना, गोडैता, हरिऔन, हरिपूर्वा र मलंगवा लगायतका पालिकामा विद्युत प्राधिकरणको सहयोगमा सिँचाइमा विशेष पहल गर्ने।

१०. वैकल्पिक बाली व्यवस्थापन: कृषि ज्ञान केन्द्रले सिंचाइ अभाव भएका क्षेत्रमा पालिका र किसानसँग समन्वय गरी वैकल्पिक बालीको प्रवर्द्धन गर्ने।
११. विद्युत समस्या समाधानमा समन्वय: मलंगवा, नवलपुर र बरहथवा वितरण केन्द्रमा न्यून भोल्टेजको समस्या समाधान गर्न पालिकाले विद्युत प्राधिकरणसँग समन्वय गरी लोड व्यवस्थापन तथा कृषि विद्युतीकरण योजना अघि बढाउने।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवलगायत जिल्लाका विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो। जिल्ला प्रशासन कार्यालय, सर्लाहीका अनुसार, यी निर्णयहरू अविलम्ब कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ।









