काठमाडौँ, असार -५ ,नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचार संहिता औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अनलाइन टिभी पत्रकार संघले “अनलाइन टिभी एआई आचार संहिता २०८२” घोषणा गर्दै एआईको जिम्मेवार प्रयोगतर्फ मार्गनिर्देशन गरेको हाे ।


सोमवार काठमाडौमा आयोजित विशेष कार्यक्रममा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचार संहिता सार्वजनिक गर्दै एआईको दुरुपयोग रोक्ने र यसको प्रयोगलाई मर्यादित र पारदर्शी बनाउने उद्देश्य रहेको जानकारी दिए ।
अध्यक्ष भण्डारीका अनुसार डिजिटल पत्रकारिता, विशेषगरी अनलाइन टिभी माध्यममा एआई प्रयोग तीव्र गतिमा बढ्ने सम्भावना देखिएकाले पत्रकारहरुलाई समयमै सचेत, जिम्मेवार र उत्तरदायी बनाउन आचार संहिता आवश्यक भएको हो।


भण्डारीले आचार संहिता नेपालको एआईसम्बन्धी पहिलो औपचारिक दस्तावेज भएको दाबी गर्नुभयो। यस्तै, सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले पनि अन्य कुनै निकायले एआई सम्बन्धी आचार संहिता जारी नगरेको पुष्टि गर्दै अनलाइन टिभी पत्रकार संघको यो पहल अनुकरणीय भएको टिप्पणी गरे ।


संघले जारी गरेको आचार संहिता अनुसार, एआईको सहयोगमा तयार गरिएका सामग्रीको अन्तिम परीक्षण, सम्पादन तथा स्वीकृति अनिवार्य रूपमा मानव (सम्पादक) बाटै गरिनेछ। साथै, एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट खुलासा गर्नुपर्ने व्यवस्था गरिएको छ।
व्यक्तिगत गोपनीयता, चरित्र हनन, अश्लीलता, संवेदनशील तथा सुरक्षा सम्बन्धी विषयमा कानुनको पालना गर्दै एआई प्रयोगमा विशेष सावधानी अपनाइने आचार संहितामा उल्लेख छ।
संघमा आबद्ध सबै पत्रकारका लागि आचार संहिता बाध्यकारी हुने र यसको पालना अनुगमन संघले निरन्तर गर्ने जनाइएको छ। संघका महासचिव पवन फुयालका अनुसार अन्य एआई प्रयोगकर्ताहरुका लागि पनि यो दस्तावेज मार्गदर्शक र अनुकरणीय बन्ने अपेक्षा गरिएको छ।


यसअघि पनि अनलाइन टिभी पत्रकार संघले २०७७ सालमा “अनलाइन टिभी स्वनियमन निर्देशिका” जारी गरी स्वनियमनको अभ्यास सुरु गरिसकेको थियो।
,यो एआई आचार संहिता नेपालको डिजिटल पत्रकारिता क्षेत्रमा एआई प्रयोगसम्बन्धी जिम्मेवारीपूर्ण पहलको पहिलो कडीका रूपमा स्थापित भएको छ, जसले भावी नीतिगत तथा व्यवहारिक अभ्यासको जग बसाल्ने अपेक्षा गरिएको छ।