काठमाडौं,साउन -१, बङ्गलादेशमा जारी २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले लगातार दोस्रो पटक श्रीलङ्कामाथि सानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।

ढाकास्थित बसुन्धरा स्पोर्ट्स मैदानमा आज सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गर्‍यो।


नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले समान २–२ गोल गर्दा, पूर्णिमा राई, सरिता नाथ र बिर्सना चौधरीले एक–एक गोल थपे। पहिलो हाफमा ४ र दोस्रो हाफमा ३ गोल गर्दै नेपालले सहज जित निकालेको हो।
यसअघि भएको भेटमा पनि नेपालले श्रीलङ्कालाई ७–० कै नतिजामा हराएको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपालले भूटानमाथि ६–१ को जित निकालेको थियो भने दोस्रो खेलमा आयोजक बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो।


चार खेलमा ९ अङ्क जोडेको नेपाल गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा पुगेको छ। उता, बङ्गलादेशले ३ खेलमै ९ अङ्क जोड्दै दोस्रो स्थानमा कायम छ।
साफ यू–२० महिला च्याम्पियनशिपमा सहभागी चार टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्ने प्रारूपअनुसार खेल भइरहेको छ। सर्वाधिक अङ्क प्राप्त गर्ने टोली नै उपाधि विजेता बन्नेछ।  दोस्रो खेल भूटान र बङ्गलादेशबीच साँझ पौने ७ बजे हुने तालिका छ।