काठमाडौँ, असार -३२, देशभर सक्रिय मनसुन प्रणालीका कारण बाढी, पहिरो र हावाहुरीको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा केही उत्तरतिर रहेकोले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको हो।

बिहानैदेखि बागमतीका केही स्थानमा र कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने अनुमान गरिएको छ।
कोशी र मधेश प्रदेशका केही तराई क्षेत्रहरूमा हावाहुरी चल्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।


राति पनि अधिकांश भागमा बदली रहनेछ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना कायम रहनेछ ।
मौसमविद्हरूले सम्भावित बाढी, पहिरो र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक तयारी गर्न आग्रह गरेका छन्।