![]()
जनकपुरधाम, असार- ३१, मधेश प्रदेशमा खडेरी, सुक्खा र खानेपानी अभावले जनजीवन संकटमा पारिरहेको बेला मुख्यमन्त्री सतीशकुमार सिंहले संघीय सरकार र अन्तर्राष्ट्रिय दातृनिकायलाई आपतकालीन सहयोगका लागि आग्रह गरेका छन्।
मंगलवार जनकपुरधाममा आयोजित एक उच्चस्तरीय बैठकमा बोल्दै मुख्यमन्त्री सिंहले प्रदेशका सबै १३६ पालिकामा सुक्खा र खानेपानीको समस्या गम्भीर बनेको भन्दै तत्काल राहत र दीर्घकालीन समाधान दुवैका लागि समन्वय आवश्यक भएको बताए।

“निर्णय मात्र होइन, काम तुरुन्तै सुरु गरौं,” उनले स्पष्ट सन्देश दिए। सुक्खाले धान रोपाइँ प्रभावित भएको भन्दै उनले आगामी खाद्यान्न संकटको जोखिमप्रति सरोकारवालाको ध्यानाकर्षण गराए।

बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवसहित मन्त्रालयका अधिकारी र विभिन्न दातृनिकायका प्रतिनिधिहरू सहभागी थिए।

दातृनिकायहरूले हालको संकटमा आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएका छन्। मुख्यमन्त्री सिंहले वातावरणीय असन्तुलनको असरबाट जुधिरहेको प्रदेशलाई राहत दिन खुला हृदयले सहयोग गर्न सबै पक्षलाई आग्रह गरे।









