![]()
काठमाडौँ, जेठ ३१ – नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशभरका २८ हजार विद्यालयमध्ये १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शनिवार बसेको बैठकमा बोल्दै सांसद भण्डारीले विगतका नेतृत्वद्वारा समयमै शिक्षा सम्बन्धी ऐन र कानून निर्माण नगरेकोले वर्तमान समस्या उत्पन्न भएको बताएका हुन्।

“नेपालमा शिक्षा क्षेत्रमा समस्या देखिनुमा विगतको नेतृत्व दोषी छ। जसले समयमा ऐन ल्याउन सकेन, छलफल गर्न सकेन,” भण्डारीले भने। “हाम्रो पुर्खाले २८ हजार विद्यालय सञ्चालन गरे, तर आज १७ हजार विद्यालय बन्द हुने अवस्थामा छन्।”
उनले सरकारी विद्यालयप्रति जनविश्वास कमजोर हुनु सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे।

शिक्षा प्रणाली कमजोर हुँदा राष्ट्रको समग्र विकासमा बाधा पुग्ने स्पष्ट गर्दै उनले शिक्षा ऐन निर्माणमा गम्भीर नहुँदाको असर हाल देखिएको बताए।

सांसद भण्डारीले शिक्षकका सेवा–सुविधा मात्र होइन, उनीहरूको कर्तव्य र शिक्षाको गुणस्तरबारे पनि गम्भीर छलफल हुनुपर्नेमा जोड दिए। “हामीले सेवा सुविधाबारे मात्र छलफल गर्याै , तर कस्ता विद्यार्थी उत्पादन गर्ने भन्ने विषयमा कहिल्यै ध्यान दिएनौं,” उनले भने।
उनले शिक्षा नीतिमा देखिएका कमजोरी सच्याउँदै यथार्थ धरातलमा आधारित विधेयक निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।









