
सर्लाही,फागुन -२१,सागरनाथ वन विकास परियोजनाले गए राति एक ट्रक अर्थात झण्डै तीन सय क्यूविफिट अवैध काठ बरामद गरेको छ ।

परियोजना र सशस्त्र प्रहरी वल सागरनाथ वेश क्याम्पबाट गएको संयुक्त टोलीले जिल्लाको ईश्वरपुर नगरपालिका ५ फुलजोर र वडा नम्बर १३ श्रीनगरस्थित बम्जन टोलबाट झण्डै तीन सय क्यूबिफिट बराबरको काठ बरामद गरेको परियोजनाले जनाएको छ ।

परियोजना प्रमुख खेमलाल विश्वकर्माका अनुसार परियोजना क्षेत्रबाट चोरी तस्करी गरी घरमा लुकाई छिपाई राखी अन्यन्त्र पैठारी गर्न लागेको सूचनाको आधारमा साल र टिक जातका काठका गोलियाहरु बरामद गरिएको हो ।

उनका अनुसार फरेष्टर गंगा ठाकुर नेतृत्वको परियोजनाको (फुलजोर र सागरनाथको संयुक्त गस्ती) टोलीले बरामद गरेको हाे । उनका अनुसार बरामद काठ वन ऐन २०७६ अनुसार आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय लालबन्दी पठाउने तयारी गरिएको छ ।

काठ तस्करीमा संलग्न व्यक्ति भने काठ बरामद गर्न गएको परियोजना र सशस्त्र प्रहरी बलको टोलीलाई देखेपछि फरार भएका परियोजना प्रमुख विश्वकर्माले जानकारी दिए । उनले भने,‘पछिल्लो समय परियोजना क्षेत्रमा अवैठ काठ तस्करीका घटनाहरु नियन्त्रणका लागि परियोजनाले कडाईका साथ गस्ती परिचालन गरिरहेको छ । आगामी दिनमा चोरी तस्करीका घट्ना निमिट्यान्न पार्न परियोजना प्रयासरत छ ।’
उनले अहिले हावाहुरीको मौसम भएकोले वनमा आगलागिका घट्नाहरु बढेको बताउदै वनमा गोठाला गएका र सिकारीहरुबाट यस्ता घट्ना भएकाले यसको नियन्त्रणका लागि ठोस योजनाका साथ परियोजना अघि बढेको बताए ।
![]()
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई विभिन्न सञ्चारमाध्यम मार्फत सचेत तुल्याउने कार्य भएको र सूचनाको बर्खिलाप गर्नेलाई वन ऐन २०७६ अनुसार कडा कार्वाही प्रक्रिया अघि बढाइने उनले बताए ।









