
सर्लाही, फागुन -११,जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर – ३ का २५ वर्षीय विमलेश महतोले दाइजो नलिई अन्तरजातीय विवाह गरेका छन् ।
महताेले मधेसमा मौलाएको दाइजो प्रथालाई चुनौती दिदै , गोडैता नगरपालिका वडा नम्बर – १० सिसौटियाकी २३ वर्षीया नम्रता साह सँग अन्तरजातीय विवाह गरेका हुन ।

´हाम्रो मधेसमा बेहुला विमलेशले चाहेको भए २० लाख सम्म दाइजो लिन सक्थे,´तर उनले दाइजो नलिइकन अनतरजातिय विवाह गरेर उदाहरणीय कार्य गरेका छन् ,मलंगवाका संजित मण्डल भने ।
समाजमा अहिले बिकृतीको रुपमा मौलाएको भागी विवाह र दाइजो प्रथालाई चुनौती दिँदै यो विवाह भएको छ । यो अन्तरजातीय र आदर्श विवाहले सर्लाहीका स्थानीय समाजमा नयाँ दिशा प्रस्तुत गरेको उनले भने ।
मधेश को परिप्रेक्ष्यमा जातपातका कारण विवाहमा प्रायः विवाद उत्पन्न हुने गरिएको अवस्थामा, यस विवाहले जातीय भेदभावलाई अन्त्य गर्ने र समाजमा समानता र एकताको सन्देश दिएको तथा उमेर नै पुरा नभइ भागेर युवा युवतीले गर्ने विवाहलाई सकारात्मक संदेश दिएको बेहुलीको बुवा नरेश साहले बताए ।

मधेशमा विवाहका क्रममा जातपातको विषय प्रायः एक ठुलो विवादको कारण बनिरहेको हुन्छ। यद्यपि, यस विवाहले जातीय भेदभावको पर्खाललाई तोड्न र समानताको आधारमा एक–अर्काप्रति सम्मान राखेर विवाह गर्ने एक उदाहरण प्रस्तुत गरेको छ,´ उनलेे भने।
समाजमा रहेको याे परम्परागत सोचलाई चुनौती दिने काम गरेको छ। आदर्श विवाहको रूपमा यसलाई लिन सकिने स्थानीय बताउछन्। जातीय भेदभाव र सामाजिक विभाजनका कारण धेरै युवाहरूको प्रेम र समर्पणलाई खारिज गरिन्छ, तर विमलेश र नम्रताको विवाहले त्यस्तो सीमालाई पार गर्दै प्रेम र सामाजिक समरसतामा विश्वास राख्ने नयाँ मार्ग प्रशस्त गरेको छ।

सार्वजनिक दृष्टिकोणमा यो विवाहले समानता र एकताको भावना थप गरेको छ। यस विवाहको सफलताले अन्य स्थानहरूमा पनि अन्तरजातीय विवाह र आदर्श विवाहको प्रवृत्ति फैलाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस विवाहले समाजमा व्यापक सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ। समाजका विभिन्न वर्गहरू, विशेष गरी युवापुस्ताले यस विवाहलाई एक उदाहरणको रूपमा लिइरहेका छन्, जसले जातीय र सामाजिक भेदभावका विरुद्ध आवाज उठाउन र एकता र प्रेमको मूल्य बुझ्नमा मद्दत पुर्याउछ ।

यस प्रकारका विवाहले मधेश क्षेत्रका परम्परागत सोचलाई बदल्ने अवसर दिन्छ र समाजमा समानता र परस्पर सम्मानको भावना बढाउँछ।
यस्ता विवाहले परम्परा र आधुनिकताको सन्तुलन कायम राख्नका साथै समाजलाई एकताबद्ध बनाउन ठूलो भूमिका खेल्ने विश्वास राख्न सकिने बेहुलाको बुवा उदिनारायण महतोले बताए ।









