मनाेज यादव/सर्लाही
फागुन – ९,प्राइम टेलिभिजनका सर्लाही जिल्ला संवाददाता एवम् सौर्य अनलाइन खबरका प्रधान सम्पादक बिपेन्द्र कुमार साहमाथि शुक्रवार सांघातिक हमला भएको छ।


सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर -२ निवासी राजकपुर मण्डलले शुक्रवार दिउँसो १०-१५ जनाको समूह लिएर मलंगवा स्थित मालपोत कार्यालयमा पत्रकार साहलाई कार्यालय प्रमुखकै कार्यकक्षबाट हातपात गर्दै बाहिर लगेका बताइएको छ।


पत्रकार साहका अनुसार, मण्डलसँग विगत ३ वर्षदेखि अदालतमा लेनदेन सम्बन्धी मुद्दा चलिरहेको थियो। साहले मण्डललाई १५ लाख रुपैयाँ दिएका थिए, तर पटक-पटक आग्रह गर्दा पनि मण्डलले रकम फिर्ता गर्न अस्वीकार गरेपछि बाध्य भएर साहले सर्लाही जिल्ला अदालतमा लेनदेन मुद्दा दर्ता गराएका थिए।
उक्त मुद्दामा साहको पक्षमा फैसला आएकाे थियो , पछि उच्च अदालत जनकपुरबाट समेत उनले मुद्दा जितेका थिए।

अदालतको आदेशअनुसार बिगो असुल गर्न सर्लाही अदालतमा पुनः मुद्दा दर्ता गरिएको थियो। सोही क्रममा अदालतको आदेशअनुसार मण्डलको दुई कित्ता जग्गा दाखिल-खारिज गराउन पत्रकार साह मालपोत कार्यालय पुगेका थिए। तर, त्यहीँ मण्डल समूहले फिल्मी शैलीमा कुटपिट गरेको पीडित पत्रकार साहले बताएका छन्।


मालपोत कार्यालयका प्रमुखसहित कर्मचारी, लेखनदास तथा अन्य सेवाग्राहीहरूको सामु नै खुलेआम भएको यो घटनाले प्रेस स्वतन्त्रता र कानूनको पालना कति कमजोर छ भन्ने देखाएको छ।
पीडित पत्रकार साहले दोषी उपर कडा कानूनी कारबाहीको माग गरेका छन्। पत्रकार माथि सार्वजनिक स्थलमा भएकाे आक्रमणको प्रेस संगठन, नागरिक समाज तथा अधिकारकर्मीहरूले घोर भर्त्सना गरेका छन्। सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कार्वाहीकाे माग गरिएको छ ।