आइतवार प्रतिनिधिसभामा बाेल्दै, नेकपा एमालेका सांसद योगेश भट्टराई ।

काठमाडौँ,फगुन—११, आइतवारको प्रतिनिधिसभामा नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा ऐन काननुअनुसार नै केबुलकार निर्माणको अनुमति दिइएको बताएका छन्।


ताप्लेजुङमा केबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ। केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ,’ भट्टराईले भने, ‘नेपालको ऐन कानुनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन। त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो।’

उनले विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने बताए। ‘त्यसमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ तर विरोधको सीमा हुन्छ। सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ भन्ने मान्यता हो,’ उनले भने।

शनिबार राति केबुलकारविरोधी समूहले गरेको मसाल जुलुसका कारण ताप्लेजुङ बजार अशान्त भएको भन्दै सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुनबाट जोगिएको जिकिर गरे।